Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

‘बाबरी’मा कम्फर्ट जोनबाट बाहिर निस्कनु पर्‍यो : अदिती बुढाथोकी

फिल्मीखबर, काठमाडौं, 2022/09/14
फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी त्यसअघि मुम्बई बसेर मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी थिइन् । डेब्यू फिल्म प्रदर्शनपछि उनी पुनः मुम्बई फर्किइन् । त्यो समयमा उनलाई केही फिल्मबाट प्रस्ताव समेत आएका थिए । तर, उनले फिल्ममा काम गर्ने मन देखाइनन् । अन्ततः उनले होम प्रोडक्सनको फिल्म ‘बाबरी’बाट चार वर्षपछि कमब्याक गर्ने निर्णय गरिन् । 
 
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा उनको जोडी धिरज मगर र धिरज टोटलानीसँग बाँधिएको छ । लामो समयको विश्रामपछि फिल्ममा फर्किएकाले अदिती केही तनाव र दबाबमा छिन् । ‘कृ’मा भन्दा बढी स्ट्रेस महसुस भएको बताउने उनी यो फिल्म आफ्नो लागि विशेष रहेको बताउँछिन् । ‘बाबरी’को क्यारेक्टर निर्वाह गर्न चुनौती भएको पनि अदितीको भनाई छ ।
 
aditi budathoki
 
उनी भन्छन्, ‘पहिलो फिल्मभन्दा ‘बाबरी’मा मेरो क्यारेक्टर धेरै नै फरक छ । दुवै फिल्मको क्यारेक्टर त गाउँकै हो तर ‘बाबरी’मा मेरो क्यारेक्टर बोल्ड, पढेलेखेको, आफ्नो निर्णय आफैंले गर्न सक्ने, कसैसँग नडराउने खालको छ । मलाई ‘कृ’भन्दा ‘बाबरी’को क्यारेक्टर निर्वाह गर्न बढी नै चुनौती महसुस भएको थियो । आफ्नो ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्केर अभिनय गर्नुपरेको थियो ।’ 
 
होम प्रोडक्सनको फिल्ममा काम गर्दा धेरै तनाव हुने अभिनेत्री बुढाथोकीको अनुभव छ । आमा-बुबा फिल्म क्षेत्रमा नयाँ भएकाले धेरै कुरामा आफूले सघाउनु परेको उनी बताउँछिन् । तर, होम प्रोडक्सनको फिल्म भएर भन्दा पनि आफ्नो दोस्रो फिल्म भएकाले बढी तनाव र दबाब रहेको उनको भनाई छ । आफूप्रति दर्शकले राखेको अपेक्षा फिल्मले पूरा गर्छ वा गर्दैन भन्ने डर उनीमा छ । 
 
‘कृ’ प्रदर्शन हुने वितिक्कै होम प्रोडक्सनको फिल्म गर्ने फाइनल भएकाले पनि त्यो बीचमा आफूले बाहिरी ब्यानरको फिल्ममा काम नगरेको अदितीले स्पष्ट पारेकी छन् । ‘बाबरी’को प्रदर्शनपछि राम्रो स्क्रिप्ट र टिमबाट अफर आए बाहिरी ब्यानरको फिल्म गर्ने उनको सोच छ । भारतमा मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेकी अदितीको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइंग छ ।