
पछिल्लो समय नयाँ नाममा फिल्म बनाउनभन्दा प्रदर्शन भइसकेकै फिल्मको नाम पछाडि एउटा अंक झुन्ड्याएर सिरिज बनाउने क्रम बढेको छ । सिरिज फिल्ममा ‘रिक्स जोन’ कम हुने भएकाले पनि निर्माताहरु यसतर्फ बढी आकर्षित भएका छन् । यसैक्रममा, निर्मात्री पुनम गौतमले पनि २०७६ सालमा प्रदर्शित आफू निर्मित फिल्म ‘मारुनी’को दोस्रो सिरिज निर्माण गर्ने तयारी गरेकी छन् ।
यतिबेला फिल्मको कथा लेखनको काम भइरहेको निर्मात्री गौतमले जानकारी दिइन् । तर, कथा फाइनल भएपछि नाम ‘मारुनी २’ नहुन पनि सक्ने उनको भनाई छ । उनी भन्छिन्, ‘कथा लेखनको काम सकिएपछि नाम ‘मारुनी २’ नै राख्ने वा नयाँ राख्ने भन्ने टुंगो लाग्नेछ । नयाँ नाम राखियो भने पनि अर्को पटक ‘मारुनी २’ बनाउने सोचमा छु । र, दुवै फिल्मलाई म आफैंले निर्देशन गर्नेछु ।’
दशैंअघि अमेरिका जाने तयारीमा रहेकी निर्मात्री गौतमले तिहारमा नेपाल फर्किएपछि फिल्मको औपचारिक निर्माण घोषणा गर्ने बताइन् । ‘मारुनी’ व्यावसायिक रुपमा पनि केही हदसम्म सफल भएको र दर्शकहरुले पनि मन पराएका कारण धेरैबाट आफूलाई सिरिज बनाउन सुझाव आएको उनको कथन छ । फिल्मभन्दा अगाडि दुईटा सर्ट फिल्म निर्देशन गर्ने तयारीमा पुनम रहेकी छिन् ।
‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका थिए । ट्रान्सजेन्डरको कथामा बनेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, सम्पदा बानियाँ, अर्जुन श्रेष्ठको मुख्य भूमिका थियो । फिल्मले उठाएको कथावस्तुले वाहवाही बटुलेको थियो भने क्लाइमेक्सको सर्वाधिक प्रशंसा भएको थियो । तर, साउथ फिल्म ‘साहो’का कारण फिल्म बक्सअफिसमा चेपुवामा परेको थियो ।

