फिल्मको व्यापारमा प्रचार-प्रसारको भूमिका विशेष रहन्छ । विना प्रचार प्रदर्शनमा आएका र बलियो प्रचारसहित प्रदर्शन भएका फिल्मको व्यापारमा ठूलो अन्तर हुने गर्छ । त्यसैले पनि फिल्म निर्माण गरेपछि प्रदर्शनको समयमा प्रचार अनिवार्य हो । फिल्मलाई दर्शकसम्म पुर्याउन प्रभावकारी प्रचारको आवश्यता पर्ने भएकाले यसका लागि निर्माताहरुले विभिन्न उपाय अपनाउने गरेका छन् ।
केही वर्ष अघिसम्म मोफसल दौडाहा, पत्रकार भेटघाट, गाउँ-शहरमा माइकिङबाहेक फिल्मको प्रचार गर्ने अन्य माध्यम थिएनन् । तर, पछिल्लो समय फिल्म प्रचारका लागि भारतमा ‘कपिल शर्मा शो’ जस्तै नेपालमा विभिन्न कमेडी शो उदाएका छन् । यसमध्ये एक हो, ‘कमेडी क्लब विथ च्याम्पियन्स’ । दर्शकमाझ लोकप्रिय यो शोमा फिल्म प्रचार गर्न निर्माताहरु पनि लोभिने गरेका छन् ।

हरेक हप्ता प्रदर्शनको संघारमा हुने फिल्मको टिम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पुग्ने गरेको छ । सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टूडियोमा नाम चलेका कलाकारहरुको ठूलो जमघट देखियो । आगामी असोज महिनामा प्रदर्शन हुन लागेका दुईटा नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।
सोमबार असोज १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बाबरी’का कलाकारहरु अदिती बुढाथोकी, धिरज मगर र धिरज नाडकर र असोजको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का मुख्य कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा छुट्टा-छुट्टै समयमा उक्त शो पुगेका थिए । अभिनेता धिरज मगरले यो शो फिल्म प्रचारको राम्रो प्लेटफर्म भएको बताए ।
शोका संचालक विशाल भण्डारीले फिल्म क्षेत्रले शोलाई निकै माया दिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अहिले निर्माताहरुले फिल्म प्रचार-प्रसारका लागि एक महिना अगावैबाट समय लिन थाल्नुभएको छ । दर्शकले दिनुभएको माया र फिल्म क्षेत्रले दिएको विश्वासले खुसी छौं ।’ केही दिनअघि यो शोको २६औं भाग सफलतापूर्वक सम्पन्न भएको भन्दै केक काटेर सेलिब्रेट गरिएको थियो ।

