Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

‘सायरा’ घोषणा, आर्यनको जोडी बलिउड अभिनेत्री सुफिया

फिल्मीखबर, काठमाण्डौ, 2022/09/13
भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘सायरा’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । मंगलवार होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन् । सम्भवतः दशैंपछि छायांकन सुरु हुने फिल्मको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी गराइयो । 
 
 
फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारहरुको अभिनय रहनेछ । नेपालबाट सुपरस्टार आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालीको मुख्य भूमिका रहनेछ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । सुफियाले एक दर्जन बढी बलिउड फिल्ममा अभिनय गरिसकेकी छन् । फिल्मको घोषणा कार्यक्रमलाई उनले भिडियो सन्देशबाट सम्बोधन गरेकी थिइन् । 
 
 
डिविआर मिडिया एन्ड मुभी प्रालीको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले फिल्म निर्माणमा सहकार्य गरेको छ । ‘वीरंगना’ फेम्ड निर्माता रघु परियार प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्मातामा काजीमान अत्रेय छन् भने निर्मातामा पुष्कर झा छन् । फिल्मको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म बनाउन लागेको जानकारी दिए । 
 
Sufiya Siddiqui
 
भारतीय अभिनेत्री सुफिया सिद्दिकी
 
त्यस्तै, भारतीय निर्माता पुष्कर झाले ‘सायरा’ नेपाली भाषामा निर्माण हुने तर हिन्दी डब गरेर भारतमा पनि प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार, नेपाल र भारतमा फिल्म एकसाथ प्रदर्शन हुनेछ । आर्यनले चरित्र र टिम राम्रो लागेकाले काम गर्न तयार भएको बताए । ‘सायरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कविताले भने फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् ।