
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गरेपछि विभिन्न पार्टीसँग आबद्ध फिल्मकर्मीहरु पनि उम्मेदवार बन्न कसिएका छन् । कोही प्रतिनिधि सभा त कोही प्रदेश सभा सदस्यमा उठ्ने तयारीमा छन् । यसैक्रममा, फिल्म निर्माता तथा वितरक करण श्रेष्ठको नाम प्रदेश सभा सदस्यमा सिफारिस भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट करणको नाम सिफारिस भएको हो ।
पार्टीले बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट प्रत्यक्षतर्फ उनको नाम प्रदेश सभा उम्मेदवारमा सिफारिस गरेको हो । पार्टीको बागमती प्रदेशको अध्यक्ष समेत रहेकाले करण यसअघि उपाध्यक्ष थिए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उनको सुमधुर सम्बन्ध छ । यसैले पनि उनले प्रदेश सभा सदस्यमा टिकट पाउने सम्भावना बलियो छ ।
टिकट पाएर निर्वाचित भए आफूले फिल्म क्षेत्रका लागि पनि काम गर्ने उनले बताए । ‘मेरो आधा जीवन फिल्म क्षेत्रमै वित्यो । बाँकी जीवन पनि यही क्षेत्रमा वित्नेछ । त्यसैले टिकट पाएर प्रदेश सदस्यमा जिते भने देश र जनताका साथै फिल्म क्षेत्रका क्षेत्रका लागि पनि धेरै काम गर्छु,’ उनले भने । केही फिल्ममा अभिनय समेत गरेका उनले जिजिए ग्रुपबाट फिल्मको वितरण गर्दै आएका छन् ।
करण समाजसेवामा पनि सक्रिय छन् । कोरोना महामारीको समयमा उनले समस्यामा परेकाहरुलाई आर्थिक सहयोगदेखि मास्क-सेनिटाइजरसम्म वितरण गरेका थिए । ‘ओम’, ‘जंजीर’ फिल्मको निर्माण गरेका उनले ‘जवाफ’, ‘सम्झिदिए पुग्छ’, ‘म छु नी तिम्रो’, ‘ह्याप्पी न्यू इयर’ लगायतका फिल्ममा अभिनय गरेका छन् । करणले वितरण गरेको नयाँ फिल्म ‘झिंगेदाउ’ यतिबेला प्रदर्शनरत छ ।

