यस वर्षको सर्वाधिक प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ बडा दशैंको अवसर पारेर असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही मितिमा यो फिल्मको हिन्दी डब भारतमा लाग्दैछ । दुवै भाषामा फिल्मको गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेका छन् । तर, दर्शकमा फिल्मको नेपालीभन्दा हिन्दी डबको पखाई बढी छ । अब यो फिल्मको हिन्दी भर्सन असोज ७ मै नेपालमा पनि लाग्ने भएको छ ।
फिल्मका वितरक मनोज राठीले दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै नेपाली र हिन्दी डब नेपालमा एकसाथ प्रदर्शन गर्न लागेको जानकारी दिए । उनले भने, ‘यो फिल्म जुन भाषामा डब भए पनि नेपालमा प्रदर्शन अधिकार हाम्रो हो । त्यसैले हिन्दी डब पनि हामीले नै वितरण गर्छौं । दर्शकहरु जुन भर्सनमा हेर्न चाहन्छन्, त्यही हेर्न दिने गरी दुवै भर्सन एकसाथ प्रदर्शन गर्न लागेका हौं ।’
.jpg)
‘प्रेमगीत ३’ले नेपालमा ‘केजीएफ २’भन्दा ठूलो ओपनिङ र कमाई गर्ने विश्वास राठीको छ । उनी अगाडि भन्छन्, ‘यो फिल्मको जुन खालको हाइप छ, त्यसबाट फिल्मलाई ‘केजीएफ २’भन्दा ठूलो ओपनिङ मिल्ने देखिन्छ । सम्भवतः दुवै भर्सनमा फिल्मले कमाईमा रेकर्ड बनाउन सक्छ ।’ दर्शकहरुमा फिल्मको पखाईलाई मध्यनजर गर्दै असोज १ गतेबाटै बुकिङ खोल्ने तयारीमा वितरक छन् ।
यतिबेला फिल्मको दुई देशमा दुई समुहले प्रचार-प्रसार गरिरहेको छ । भारतमा निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले प्रचारको कमान्ड सम्हालेका छन् भने नेपालमा कलाकारहरु सुनिल थापा, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दासले प्रचार गरिरहेका छन् । केही दिनमा निर्देशकसहितको टिम प्रचारका लागि नेपाल आउने तयारीमा छ ।
फिल्मलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, जीवन भट्टराई, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको अभिनय छ । ढुंगे युगको कथामा निर्मित फिल्ममा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन छ ।

