Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मलाई स्टारडमप्रति विश्वास लाग्दैन : धिरज मगर

फिल्मीखबर, काठमाण्डौ, 2022/09/11
Dhiraj Magar
 
पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाटै राम्रो स्टारडम बनाएका अभिनेता धिरज मगर ४ वर्षपछि फिल्म ‘बाबरी’बाट आफ्नो काम दर्शकलाई देखाउँदैछन् । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई धिरजको स्टारडमले इनिसियल व्यापारमा फाइदा पुग्ने विश्लेषण गरिएको छ । तर, उनलाई भने न स्टारडममा कुनै विश्वास छ न आफ्नो स्टारडम छ भन्ने लाग्छ । 
 
आइतवार पत्रकारसँग भेटघाटको क्रममा धिरजले भने, ‘मसँग फिल्मको राम्रो ओपनिङ गर्ने खालको स्टारडम छ भन्ने नै लाग्दैन । मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो फिल्म हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु ।’ फिल्म चल्नका लागि फिल्म आफैंमा राम्रो हुनुपर्ने धिरजको तर्क छ ।
 
‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाबरी’मा धिरजले निर्वाह गरेको क्यारेक्टरमा आकाश-जमिनको फरक छ । ‘बाबरी’मा उनले निभाएको क्यारेक्टरले त दर्शकलाई सरप्राइज नै बनाएको छ । फिल्ममा उनले गाउँको काजीको भूमिका निभाएका छन्, जसको गेटअप र बोल्ने शैली पृथक छ । यूकेमा हुर्केका धिरज काजीको चरित्रमा आफूलाई दुरुस्त उतार्न एकदमै चुनौतीपूर्ण रहेको स्मरण गर्छन् ।
 
उनी भन्छन्, ‘फिल्ममा मेरो क्यारेक्टर मभन्दा विल्कुलै फरक छ । म यूकेमा हुर्केकाले गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको एकदमै चुनौतीपूर्ण थियो । यद्यपि, कलाकारको रुपमा मैले आफूले आफूलाई एक्सप्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय गर्न सकेँ भन्ने लाग्छ ।’ सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस फिल्ममा धिरजको अपोजिटमा अभिनेत्री अदिती बुढाथोकी छिन् ।