नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रवार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रवार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको संकेत स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो ।
आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिल कुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
.jpg)
दुई संस्थाबीच भएको छलफलमा दीपकराज गिरी, निश्चल बस्नेत, दीपेन्द्र के. खनाल, ज्ञानेन्द्र देउजा, भाष्कर ढुंगाना, प्रज्ज्वल राणा, खगेन्द्र लामिछाने, किरण नेपालीलगायतको उपस्थिति थियो । हल बन्द फिर्ता गर्ने निर्णयलाई फिल्मकर्मीहरुले स्वागत गरेका छन् । चलचित्र संघ र निर्माता संघबीच कहिले शेयर बाँडफाँड त कहिले हलको विषयलाई लिएर बेला बखतमा लडाइँ हुँदै आएको छ ।
बिहीवार चलचित्र संघले विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रका समूहहरुले संघका सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गरेको, राज्यले चलचित्र आयातमा बाधा उत्पन्न गराउने काम गरेको, स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोजेको, चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिने काम भएको भन्दै एक दिनका लागि हल बन्दको घोषणा गरेको थियो ।

