Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राहत फतेह अली खानको स्वरमा ‘प्रेमगीत ३’को नयाँ हिन्दी गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2022/09/09
भारतका चर्चित पार्श्व गायक राहत फतेह अली खानको स्वरमा रहेको नेपाली फिल्म ‘प्रेमगीत ३’को नयाँ हिन्दी गीत रिलिज भएको छ । ‘जहान भी जाओ’ बोलको रोमान्टिक थिमको गीतमा डीएच हार्मोनीको कम्पोज र हरी शंकर सुफीको शब्द रचना रहेको छ । गायक खानको स्वरले मन्त्रमुग्ध बनाउँछ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । 
 
Rahat Fateh Ali Khan
 
गीतमा उनीहरुको बाल्यकालदेखि अंकुराएको प्रेमलाई देखाइएको छ । प्रदीप र क्रिस्टिनाको केमेस्ट्री सुहाएको देखिन्छ । माथिल्लो मुस्ताङको हिउँले सेताम्मे दृश्यहरुलाई पृष्ठभूमिमा सजाएर खिचिएको भिडियोमा राजेश श्रेष्ठको छायांकन प्रशंसनीय छ । भारतका प्रख्यात डबिङ आर्टिस्टहरुले हिन्दी डब गरेको ‘प्रेमगीत ३’ भारतमा १५ सय बढी सिनेमा हलमा प्रदर्शन हुने जानकारी प्राप्त छ । 
 
असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, जीवन भट्टराई, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको पनि अभिनय रहेको यस फिल्ममा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन छ ।
 
हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई संजय सांकला, बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । फिल्मको कथा स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । नेपाली भर्सन रिलिजको केही सातामा ‘प्रेमगीत ३’को हिन्दी डब पनि नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।