केही दिनअघि राजधानीमा आयोजित प्रिमियरमा वाहवाही बटुलेको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ शुक्रवार (आज) बाट प्रदर्शनमा आएको छ । तर, यो फिल्म मल्टीप्लेक्सहरुमा बलिउडको मल्टीस्टारर फिल्म ‘ब्रहास्त्र’को चेपुवामा परेको छ । अधिकांश मल्टीप्लेक्सहरुले ‘ब्रहास्त्र’लाई काखी च्यापेर निर्देशक बिडारीको फिल्मलाई झारो टार्नका लागि मात्र शो दिएका छन् ।
तर, रोचक कुरा के छ भने ‘ऐना झ्यालको पुतली’ र ‘ब्रहास्त्र’को वितरक कम्पनी एउटै हो, स्टेशन फाइभ । यही कम्पनीले यसअघि वितरण गरेको बलिउड फिल्म ‘लाइगर’ डिजास्टर भएको थियो । यसपछि बलिउड फिल्म किन्न नराम्रोसँग हच्किएको यो कम्पनीले अन्तिम समयमा ‘ब्रहास्त्र’लाई नेपाल भित्रायो । र, आफैंले वितरण अधिकार लिएको ‘ऐना झ्यालको पुतली’को घाँटी निमोठेको छ ।

यो कम्पनीका हर्ताकर्ता प्रचण्डमान श्रेष्ठ हुन् । उनी एक समय फिल्म निर्देशनमा सक्रिय थिए । अहिले स्टेशन फाइभमार्फत् नेपाली र विदेशी फिल्मको वितरण गर्दै आएका छन् । यो कम्पनीको शेयर होल्डर प्रमण्डमानसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि हुन् । पपकर्न पिक्चरबाट अलग भएपछि उनीहरुले फिल्म वितरण गर्ने उद्देश्यसहित स्टेशन फाइभको स्थापना गरेका थिए ।
तर, अहिले स्टेशन फाइभले पैसा कमाउन आफैंले वितरण गर्ने नेपाली फिल्ममाथि विदेशी फिल्म भिडाउन समेत मुटु कमाएको छैन । आफू शेयर होल्डर रहेको कम्पनीले ‘ब्रहास्त्र’ नेपाल ल्याएर आफैंले वितरण गरेको ‘ऐना झ्यालको पुतली’को घाँटी निमोठ्ने काम गरेपछि निश्चल बस्नेतले स्टेशन फाइभ छाड्ने संकेत गरेका छन् । उनले बिहीवार फेसबुकमा यो कुरा उल्लेख गरेका हुन् ।
निर्देशक बस्नेतले लेखेका छन्, ‘शो खुल्यो भनेर एकछिन खुशी भएँ । हेर्नै पर्ने फिल्म भनेर भनिएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’लाई दिइएको शो संख्या र समय हेर्दा आफ्नै गालामा ताली बजाउन मन लागेको छ । दिइएको शोमा कति दर्शक आउँछन् त्यो थाहा छैन, आनन्द आउने फिल्म चाहिँ बनेको छ । म आफैंले बनाएको फिल्म भन्दा फरक र उत्कृष्ट छ । हेर्न अनुरोध गर्छु ।’
उनले स्टेशन फाइभ छाड्ने विषयमा अगाडि लेखेका छन्, ‘म आफैं पार्टनर भएको कम्पनी स्टेशन फाइभले वितरण गरेको हुँदा आफूलाई लाज लागेको छ केही गर्न नसकेकोमा । सो कम्पनीमा रहिरहन अब सक्दिनँ होला ।’ तर, उनले स्टाटसमा ‘होला’ शब्द उल्लेख गरेकाले भोली स्टेशन फाइभमा फर्किए भने पनि निश्चलले यही शब्दको सहारामा आफ्नो बचाउ नगर्लान् भन्न सकिन्न ।

