भदौ महिनामा नेपाली फिल्म प्रदर्शनको बाढी नै देखिएको छ । हरेक हप्ता हलमा नयाँ फिल्म टुटेका मात्र छैनन्, एकभन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका छन् । यसैक्रममा, यो हप्ताको शुक्रवार अर्थात् आजबाट थप दुई नयाँ फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन उत्रिएका छन् । दुवै फिल्म फरक विषयवस्तु र फरक शैलीमा निर्माण भएका छन् ।
यी दुई नेपाली फिल्मलाई मल्टीप्लेक्समा बलिउड फिल्म ‘ब्रहास्त्र’ ठूलो चुनौती बनेर उभिएको छ । यो फिल्मका कारण दुई नेपाली फिल्म मल्टीप्लेक्सहरुमा न्यून शोमा खुम्चिएका छन् । त्यसमाथि ‘ब्रहास्त्र’को बुकिङ हेर्दा केही दिन हलमा यो फिल्मले आफ्नो दबदबा बनाउने देखिन्छ । यो अवस्थामा दुई नेपाली फिल्मलाई हलमा लामो यात्रा गर्न ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।
.jpg)
विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड समेत जितेको ‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । केही दिनअघि भएको प्रिमियरमा प्रशंसा बटुलेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ । फिल्मका निर्माता आकाश पौडेल, प्रविन स्याङ्बो, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल र निर्देशक सुजित बिडारी हुन् ।
त्यस्तै, गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको ‘गोर्खा : बिनिथ द ब्रेभरी’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । समिर गुरुङ, गौमाया गुरुङ, ओली बस्सी, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको फिल्ममा अभिनय छ ।
फिल्मको कथा प्रदीप स्वयंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा विनोद सुवेदी खत्री कार्यकारी निर्माता र मधु गुरुङ/प्रयास गुरुङ निर्माता रहेको फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुलारीको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

