Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मलाई शो बाँड्न प्रदर्शकको अटेरी, दुई संस्थाले जनाए आपत्ति

फिल्मीखबर, काठमाडौं, 2022/09/08
नेपालका मल्टीप्लेक्स सञ्चालकहरुले नेपाली फिल्ममाथि हिंसा गरिरहेका छन् । उनीहरुले विदेशी फिल्मलाई काखी च्यापेर नेपाली फिल्मको घाँटी निमोठ्दै आएका छन् । भदौ १० मा विदेशी फिल्म ‘लाइगर’का लागि हलवालाले दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ लाई शो बाँडफाँडमा बली चढाउन खोजे । ‘राधा’ त बली नै चढ्यो । यसपटक हलवालाको दादागिरी नयाँ शैलीमा देखिएको छ । 
 
भोली शुक्रवारबाट दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने तयारीमा छन् । योसँगै भारतका दुई फिल्म ‘ब्रह्मास्त्र’ र ‘सीता रामम’ पनि प्रदर्शन हुँदैछ । ठूलो रकममा नेपाल भित्राइएको ‘ब्रह्मास्त्र’ नेपालमा प्रतिक्षीत छ । तर, बिहीवार दिउँसोसम्म ‘ब्रह्मास्त्र’ सेन्सर भएको छैन । सेन्सर नभएसम्म नेपाली होस् वा विदेशी फिल्म प्रदर्शन गर्न पाइँदैन ।
 
nepali movie
 
‘ब्रह्मास्त्र’ सेन्सर नभएकाले प्रदर्शकहरुले सेन्सर भइसकेका दुई नेपाली फिल्मलाई बिहीवार दिउँसोसम्म शो बाँडफाँड गरेका छैनन् । जबकि, यसअघि बुधवार साँझसम्म नै शुक्रवार रिलिज हुने फिल्मको बुकिङ खुलिसकेको हुन्थ्यो । सेन्सर नगरी ‘ब्रह्मास्त्र’को बुकिङ खोल्न वितरकले गरेको आग्रह चलचित्र विकास बोर्डले नमानेपछि प्रदर्शकहरुले दुई नेपाली फिल्मलाई शो नबाँडेका हुन् । 
 
बोर्डले फिल्मको सेन्सरपछि हलमा चलाउनका लागि मुभी कोड दिने गर्छ र त्यसपछि मात्र बुकिङ खोल्न पाइन्छ । ‘ब्रम्हास्त्र’को सेन्सर नभएकाले मुभी कोड पाएको छैन र बुकिङ पनि खुल्न नसकेको हो । तर, प्रदर्शकहरुले बोर्डलाई घुँडा टेकाउन नेपाली फिल्मको घाँटी नमोठ्ने काम गरेका छन् । प्रदर्शकको यसखालको रवैयाविरुद्ध फिल्म सम्बद्ध संघ-संस्थाहरु बोल्न थालेका छन् । 
 
चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले बिहीवार विज्ञप्ती जारी गर्दै विदेशी फिल्मको सेन्सर नभएको कारण नेपाली फिल्मको बुकिङ नखुलाएकोप्रति घोर आपत्ति जनाएको छ । निर्माता संघले ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’लाई तत्काल शो टाइम उपलब्ध गराएर बुकिङ खुल्ला नगरे यसविरुद्ध बाध्य भएर कडा रुपमा संघर्षमा उत्रने चेतावनी दिएको छ । 
 
 
त्यस्तै, सेन्सर बोर्डका सदस्यमध्ये एक सन्तोष कुमार थापाले अहिलेसम्म ‘ब्रह्मास्त्र’ सेन्सरका लागि नआएको र शुक्रवार-शनिवार विदा परेकाले त्यस दिन सेन्सर नहुने र विदामा पनि सेन्सर बोर्डले हिन्दी फिल्मलाई सेन्सर गरे आफू उपस्थित नहुने फेसबुकमा स्टाटस लेख्दै बताएका छन् । विदेशी फिल्म सेन्सर नभएका कारण नेपाली फिल्मले शो टाइम नै नपाएको यो पहिलो पटक हो ।