
नेपाल भाषाको फिल्म ‘लाखे आजु’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । इन्द्रजात्राको अवसर पारेर बिहीवार सार्वजनिक गरिएको पोस्टरमा मुकुट लगाएर लाखे नाच नाचिरहेको एक पात्रलाई विशेष प्राथमिकता दिइएको छ भने फिल्मका मुख्य अभिनेता सोहित मानन्धर र अभिनेत्री अशिष्मा नकर्मी प्रधान पनि फिचर्ड छन् । उनीहरु नेवारी पहिरानमा प्रेमिल मुद्रामा देखिएका छन् ।
विके फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ फिल्मको निर्मातामा छन् । ‘लाखे आजु’को चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ । यो फिल्मले नेपाल भाषाको पौराणिक कथा उठान गरेको निर्देशक नकर्मीले बताए ।
मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठलगायतको पनि अभिनय रहेको फिल्ममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले विशेष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको कोरियोग्राफी, दिपेन बस्न्यात र आर्यम नकर्मीको संयुक्त सम्पादन रहेको छ ।

