Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ’ हेर्दा हमालले सम्झिए आमा, भन्छन्, ‘क्लाइमेक्स मार्मिक छ’

फिल्मीखबर, काठमाडौं, 2022/09/08
एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाको कमब्याक फिल्म ‘झिँगेदाउ’ले घरेलू बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मले ‘अफ डे’मा पनि दर्शकको अभाव झेल्नु परेको छैन । राजधानीसहित देशभर फिल्मको दिनहुँ ६० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । यो फिल्म हेर्न युवापुस्ताभन्दा परिवारसहित हल पुग्ने दर्शकहरु धेरै देखिएका छन् । 
 
बुधवार अभिनेता राजेश हमालले पनि ‘झिँगेदाउ’ हेरे । फिल्म हेरिरहँदा आफूले आमालाई धेरै नै मिस गरेको उनले बताए । ‘मैले फिल्म हेरिरहँदा आमालाई भयंकर मिस गरेँ । आमा-बुबाप्रति सन्तानले गर्नुपर्ने कर्तव्यलाई फिल्मले झकझकाउँछ । आधुनिक जमानामा हामीले आमा-बुबाप्रतिको जिम्मेवारी भुलिरहेका हुन्छौं । फिल्मले हामीलाई जिम्मेवार बोध पनि गराउँछ,’ हमालले भने । 
 
rajesh hamal 2
 
क्लाइमेक्स निकै मार्मिक रहेको बताउँदै उनले नेपाली समाजको एउटा समयलाई फिल्मले प्रतिनिधित्व गर्ने बताए । ‘त्यो समयको भावना, जीवनशैली, रहन-सहनलाई फिल्मले प्रतिनिधित्व गरेको छ र त्यसलाई राम्रोसँग झल्काइएको छ,’ उनले भने, ‘पारिवारिक कलहले आमाहरु कसरी विचलित हुन्छन् भन्ने फिल्मको कथाले मन छुन्छ । अहिलेको समयमा त यो फिल्म झन् सान्दर्भिक छ ।’ 
 
आमा र बुबा जीवनमा कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुराहरु फिल्ममा दर्शाइएको र त्यसमा सबैले अपनत्व महसुस गर्ने हमालको धारणा छ । निर्देशकले क्यारेक्टर हेरेर अब्बल कलाकार छानेको र हरेक कलाकारले पात्रलाई न्याय गरको भन्दै उनले प्रशंसा गरे । फिल्ममा बोलिने संवाद र देखाइने दृश्यले एउटा समयलाई प्रतिनिधित्व गर्ने भएकाले आफूलाई फिल्म मन परेको उनले बताए ।
 
त्यस्तै, निर्देशक तुलसी घिमिरेले धेरैपछि आफूले एउटा इमोसनल फिल्म हेर्न पाएकोमा खुसी भाव प्रकट गरे । फिल्म एकदमै राम्रो रहेको बताउँदै उनले ‘झिँगेदाउ’ नेपाली कलर र फ्लेवरमाथि बनेको र यस्ता फिल्महरु बन्नुपर्ने बताए । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कलाकारको अभिनयसँगै निर्देशकिय पक्ष अब्बल रहेको प्रतिक्रिया दिए । फिल्म हेरिरहँदा ध्यान अन्त नजाने उनले सुनाए ।
 
बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले कृतिलाई ‘झिँगेदाउ’ले न्याय गरेको तर्क गरे । उनले भने, ‘समाजको कथाभित्रको पनि कथालाई लिएर निर्देशकले फिल्म बनाउनुभएको छ । यो फिल्म पूरै अर्गानिक छ । वर्षौंपछि नेपाली फिल्ममा नयाँपन भेटिएको महसुस हुन्छ । फिल्ममा सबैले उत्कृष्ट अभिनय गर्नुभएको छ । दीर्घकालिन र गहिरो सन्देश प्रवाह गर्न फिल्म सफल भएको छ ।’ 
 
बुधवार दरवार सिनेमामा फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सरोज खनाल, किरण केसी, अशोक शर्मा, कृष्ण मल्ललगायतले पनि कलाकारको अभिनय, कथावस्तु र निर्देशक देउजाको कामको खुलेर प्रशंसा गरे । यस फिल्ममा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, संगम भण्डारी, मुकुन भुषाल, कुशल विष्टलगायतको अभिनय छ ।