Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दुई समुहमा दुई देशमा ‘प्रेमगीत ३’को प्रचार

फिल्मीखबर, काठमाडौं, 2022/09/08
यस वर्ष बक्सअफिसमा आँधी ल्याउन सक्ने फिल्मको रुपमा विश्लेषण गरिएको ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही मितिमा भारतका हलमा पनि फिल्मको हिन्दी डब रिलिज हुँदैछ । फिल्मको नेपाली र हिन्दी भर्सनमा टिजर, ट्रेलर र गीतहरु रिलिज भइसकेका छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले दुवै देशमा प्रचार अभियानलाई तिव्रता दिएको छ ।
 
prem geet 3
 
फिल्मको प्रचार गर्न नेपाल र भारतमा दुई समुह खटेको छ । भारतमा ‘ग्राउन्ड लेभल’बाट प्रचार गर्नुपर्ने भएकाले यसको जिम्मेवारी अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता तथा निर्देशक सन्तोष सेनले लिएका छन् । नेपालमा प्रचारलाई तीव्र बनाउन फिल्मका कलाकारहरु शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दासलगायतलाई जिम्मा दिइएको छ ।
 
बिहीवारबाट नेपालमा फिल्मको ‘प्रमोसनल टूर’ थालिएको छ । जसअन्तर्गत ७ वटै प्रदेशमा पुगेर फिल्मका कलाकारहरुले पत्रकार सम्मेलन गर्नेछन् । भदौ अन्तिमबाट प्रदीप, क्रिस्टिना र सन्तोषले पनि फिल्मको नेपाल प्रचार अभियान ज्वाइन गर्नेछन् । यसै हप्ता उनीहरुले भारतको सिक्किम र आसाम क्षेत्रमा प्रचार गरे । भोली शुक्रवार कोलकातामा फिल्मको भव्य प्रमोसनल कन्सर्ट हुँदैछ । 
 
‘हामीले ‘प्रेमगीत’ बनाउँदा नेपालमा जसरी प्रचार गरेको थियौं, अहिले भारतमा त्यसरी नै ग्राउन्ड लेभलबाट प्रचार गर्दैछौं । भारतमा ‘प्रेमगीत ३’ले राम्रो गर्‍यो भने नेपाली फिल्मका लागि ठूलो ढोका खुल्नेछ । त्यसैले अहिले हामीले भारत प्रचारलाई बढी प्राथमिकता दिएका छौं । नेपालमा समग्र फिल्मकर्मी र दर्शकहरुले साथ-सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं,’ भारतबाट निर्माता सेनले भने । 
 
भारतका १५ सय बढी हलमा प्रदर्शन हुन लागेको फिल्मलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । ढुंगे युगको कथामा निर्माण भएको फिल्ममा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्रीलगायतको पनि अभिनय छ । राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधान फिल्मका छायाँकर हुन् ।