
असोज २८ गतेबाट प्रदर्शन हुन लागेको साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा अमेरिका मोहले घर-परिवारमा पारेको असरलाई देखाइएको छ । ट्रेलर हेर्दा पारिवारिक कथा रुचाउने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने छनक देखिन्छ ।
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको फिल्मले कुनै न कुनै रुपमा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ ।
सन्तोष र रमासँगै केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको फिल्मलाई रवि सायमीले खिचेका हुन् । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह-निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।
फरक सोचका कुरा, बेथितीका कुरा, विदेशिएकाहरुका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई गठजोड गरेर ‘हिजो आजका कुरा’ बनाएको निर्देशक पन्तले बताए । कलाकार सन्तोष पन्तले फिल्ममा नयाँ कुरा केही नभएको बताउँदै हरेक नेपालीले घरमा भोगिरहेकै कुरा मात्र फिल्ममा रहेको प्रस्ट्याए । नेपाली समाजकै वर्तमान अवस्थालाई फिल्ममा चित्रण गरेको उनको भनाई छ ।

