
विजया दशमीको अवसर पारेर आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को अष्ट्रेलिया प्रदर्शन अधिकार विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले महंगो रकममा फिल्मको राइट्स किनेका हुन् । केही दिनअघि फिल्म निर्माण कम्पनी बाबरी फिल्म्स र मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो ।
निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार, नेपाल प्रदर्शनको १० दिनपछि फिल्म अष्ट्रेलियामा लाग्नेछ । त्यस्तै, तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि फिल्म प्रदर्शन हुने भएको छ । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतको लोकप्रियता र ट्रेलरले देखाएको सुखद् संकेतले विदेशमा फिल्मको डिमान्ड बढ्दो छ । अन्य देशका लागि पनि कुराकानी भइरहेको पुष्पलताले बताइन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय छ । यो फिल्मबाट अभिनेत्री तृप्ति नाडकरका छोरा धिरजले नायकको रुपमा डेब्यू गरेका छन् । फिल्ममा उनी भारतीय नागरिककै भूमिकामा छन् ।
फिल्मको निर्मातामा पुष्पलतासँगै गणेश बुढाथोकी छन् । उनीहरु अभिनेत्री अदिती बुढाथोकीका आमा-बुबा हुन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेल स्वयंको सम्पादन छ । सुरेन्द्रले यसअघि फिल्म ‘कृ’को निर्देशन गरेका थिए ।

