Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’सँग ‘अवतार’ भिड्ने, सन्तोषको प्रश्न- ‘हलिउड फिल्म किन पहिलो प्राथमिकतामा पर्छ ?’

फिल्मीखबर, काठमाडौं, 2022/09/07
विदेशी फिल्मको डरले नेपाली निर्माताको भोक-निन्द्रा उड्छ । हलवालाले विदेशी फिल्मलाई काखी च्याप्ने र दर्शकको पनि पहिलो रोजाईमा पर्ने भएकाले नेपाली निर्माताहरु विदेशी फिल्मसँग भिड्न उत्ति आँट गर्दैनन् । तर, पछिल्लो समय फिल्म बलियो भए कुनै विदेशी फिल्मसँग डराउनु पर्दैन भन्ने मानक स्थापित हुँदैछ । तर, प्रदर्शकहरुको व्यवहारबाट भने निर्माता तर्सिन छाडेका छैनन् । 
 
avatar and premgeet 3
 
अघिल्लो हप्तालाई फर्केर हेर्ने हो भने बिहीवार रिलिज भएको बलिउड फिल्म ‘लाइगर’का कारण शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’लाई प्रायः मल्टीप्लेक्सहरुले शो बाँडफाँडमा ठूलो विभेद गरेका थिए । नेपाली फिल्ममाथि प्रदर्शकको यसप्रकारको सौतेनी व्यवहार यसअघि कयैन् नेपाली फिल्मले भोगेको छ । तर, यहाँ जसलाई पर्छ उही मात्र बोल्छ । 
 
‘प्रकाश’ टिमले शो कम पाएको विषयमा आगो नै ओकल्यो । अन्ततः मल्टीप्लेक्सहरुमा फिल्मको शो बढ्यो । शोमा अन्याय भएको भन्दै यो फिल्मको टिम आक्रोशित बन्दा एकाधबाहेक अरुले साथ दिएनन् । बरु, खुट्टा तान्न अगाडि सरे । अब अर्को फिल्मलाई यही समस्या दोहोरिँदा ‘प्रकाश’ टिम पनि बोलेको सम्भवतः सुनिने छैन । यसको सन्देश के हो भने फिल्म क्षेत्रमा एकता भन्ने छैन । 
 
अब विदेशी फिल्मका कारण शो बाँडफाँडमा प्रदर्शकबाट विभेदको सामना गर्ने पालो फिल्म ‘प्रेमगीत ३’को आएको छ । असोज ७ गतेबाट प्रदर्शन हुने यो फिल्मसँग भिड्न अरु नेपाली फिल्म छैनन् । यसको एउटै मात्र कारण हो, ‘प्रेमगीत ३’को चेपुवामा पर्ने डर । तर, अरु नेपाली फिल्म नआए पनि हलवालाले सुपरहिट हलिउड फिल्म ‘अवतार’लाई असोज ७ मा रि-रिलिज गर्ने भएका छन् । 
 
रि-रिलिज हुन लागेको भए पनि नेपालमा ‘अवतार’को पखाई ठूलो छ । यसकारण प्रदर्शकहरुले यो फिल्मलाई ठूलो शो दिने निश्चित छ । र, यसको असर ‘प्रेमगीत ३’को शो बाँडफाँडमा मात्र पर्ने छैन, दर्शक समेत विभाजित हुनेछन् । नेपालका प्रदर्शकले ‘अवतार’ लाई काखी च्याप्ने देखेपछि ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेन बोल्न सुरु गरेका छन् । र, अब उनी मात्र बोल्नेछन् । 
 
santos sen
 
मंगलवार नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्सले आफ्नो फेसबुक पेजमा ‘अवतार’को नेपाल रिलिज डेट घोषणा गर्दै गरेको एक पोस्टको कमेन्टमा सन्तोषले प्रदर्शकहरुलाई प्रश्न सोध्दै लेखेका छन्, ‘दोस्रो पटक रिलिज हुने हलिउड फिल्म किन यति धेरै पहिलो प्राथमिकतामा पर्छ ? जान्न मन लाग्यो ।’ उक्त पोस्टमा धेरैले ‘अवतार’ नभइ ‘प्रेमगीत ३’ हेर्ने भन्दै कमेन्ट गरेका छन् । 
 
निर्माता सेन प्रायः नेपाली फिल्मलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिइरहेका हुन्छन् । तर, नेपाली फिल्मलाई कुनै विदेशी फिल्मका कारण हलवालाले शो बाँडफाँडमा विभेद गरेको अवस्थामा उनी खासै बोलेको सुनिएको छैन, ‘प्रकाश’को हकमा बाहेक । भनिन्छ नि, ‘आज एउटालाई झम्टेको बाघले भोली अर्कोलाई टोक्न सक्छ ।’ अब त्यो बाघले ‘प्रेमगीत ३’लाई झम्टिने देखिन्छ ।