
मंगलवार नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्धामा सफाई दिँदै बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि शाहलाई अदालतले आदेश दिएको छ । अदालतको यस फैसलाविरुद्ध पल पुनरावेदनमा जाने भएका छन् ।
पल शाहका नीजि वकिल कमलामोहन वाग्लेले जिल्ला अदालतको फैसला गलत रहेकाले पोखरा उच्च अदालतमा पुनरावेदन गरिने जानकारी दिए । कुनै पनि मिसिल वा प्रमाणले कसुर प्रमाणित नहुने भएकाले अब आफूहरु उच्च अदालत जाने उनले बताए । पीडितले आफूमाथि कुनै यौन हिंसा नभएको भन्दा भन्दै अदालतले गरेको फैसलाले शाहको छविमा दाग लागेको उनको तर्क छ ।
जिल्ला अदालतको फैसलाले पीडितमाथि पनि अन्याय भएको र पीडितले आफूलाई केही भएको छैन भन्दा पनि शाहले यौन हिंसा गरेको भन्दै कैद सजाय सुनाउनु गलत रहेको वाग्लेले बताए । यसअघि पनि तनहुँ र नवलपुर अदालतले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्चले पनि जिल्लाकै फैसलालाई सदर गर्यो ।
पल विगत ७ महिनादेखि तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा थिए । नवलपुर जिल्ला अदालतले सुनाएको २ वर्ष ६ महिनाको कैद सजायमा ७ महिनाको अवधि जोडिने छैन । नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा गत फागुन ११ मा किटानी जाहेरी दिएका थिए भने फागुन १५ गते नवलपुर प्रहरीमा पनि जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए ।

