Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म नचलेको हल्लापछि हल पुगे पूजा र सोनम

फिल्मीखबर, काठमाडौं, 2022/09/06
केही वर्षयता फिल्म प्रदर्शनको समयमा कलाकारहरु हल पुगेर दर्शकको भीड मिडियामा देखाउने होडबाजी नै चलेको छ । यस हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ले पनि यो परम्परालाई निरन्तरता दिए । दुवै फिल्मका कलाकारहरु शुक्रवारदेखि विभिन्न हल पुगेर दर्शकको भीड मिडियामा देखाउन प्रतिस्पर्धा गरिरहेका छन् । 
 
शुक्रवार र शनिवार ‘सम्हालिन्छ कहिले मन’का कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनले काठमाडौंका कुनै हल पुग्न बाँकी राखेनन् । दुई दिन फिल्मले व्यापार पनि राम्रो गर्‍यो । तर, आइतवारदेखि कलाकारहरु हल पुग्न छाडेपछि फिल्मले तम तोडेको हल्ला चल्यो । एक पत्रकारले फिल्म हेर्ने दर्शक छैनन् भनेर समाचार लेखेपछि निर्देशक सुदर्शन थापाले धम्की समेत दिए ।
 
pooja sharma and sonam topden
 
‘झिँगेदाउ’का कलाकारहरु आइतवारपछि पनि हल-हल धाएर दर्शकहरुको भीड देखाउन थालेपछि ‘सम्हालिन्छ कहिले मन’का कलाकारहरुले पुनः ‘हल भिजिट’ सुरु गरेका छन् । मंगलवार दिउँसो पूजा र सोनमले चाबहिलको एफक्यूब हल पुगेर हाउसफुल दर्शकसँग साक्षात्कार गरे । प्रदर्शनको पाँच दिनमा पनि दर्शकबाट यसप्रकारको साथ र माया मिलेकोमा दुवैले खुसी प्रकट गरे ।
 
पूजाले फिल्म नचलेको भन्ने हल्लाबारे पनि शान्त शैलीमा आफ्नो धारणा राखिन् । उनले भनिन्, ‘हलमा दर्शकहरु देखाएपछि मात्र फिल्म चल्यो भन्ने हुने रहेछ । हामी फिल्मको प्रचारदेखि प्रदर्शनको दुई दिन धेरै कुद्‌यौं । शनिवारपछि आराम गरेर बसेका थियौं । तर, बजारमा फिल्मै चलेको छैन जस्तो भएछ । अनि आज चाहिँ जानै पर्छ भन्ने भयो । नभए त फिल्मै चलेको छैन जस्तो हुने रैछ ।’
 
कलाकारहरु सो-पिस भएको गुनासो पोख्दै उनले अगाडि भनिन्, ‘हाम्रो कामलाई दर्शकले मन पराउनुहुन्छ भनेर ढुक्कसँग बस्छौं । तर, कस्तो भइदियो भने दर्शकसम्म नपुगेसम्म फिल्मै चलेको छैन भन्ने खालको वातावरण बन्ने रहेछन् । तर पनि केही छैन । हामीलाई दर्शकसम्म पुगिरहनै मनपर्छ । हामी बनेकै दर्शकका कारणले हो । दर्शकसम्म जान पाउनु भनेको त गर्वको कुरा हो ।’
 
प्रदर्शनको पाँचौं दिनमा पनि हलहरुमा दर्शकको उत्साहजनक उपस्थिति हुनु राम्रो फिल्मको प्रतिफल रहेको सोनमको बुझाई छ । फिल्ममा काम गर्दै गर्दा आफूले यसखालको माया पाउँछु भन्ने कहिल्यै नसोचेको उनी बताउँछन् । आफूलाई कुनै उपाधिले भन्दा कलाकारको रुपमा चिन्दा बढी खुसी हुने उनको भनाई छ । गायक समेत रहेका उनको ‘सम्हालिन्छ कहिले मन’ डेब्यू फिल्म हो ।