भदौ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड जित्न सफल फिल्म ‘ऐना झ्यालको पुतली’ले प्रिमियरमा गजबको वाहवाही बटुलेको छ । सोमवार सुनधारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजना भएको प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारहरुले फिल्म हेरिरहँदा आफ्नै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए ।
गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै फिल्मलाई नेपालभरीका स्कुलहरुमा देखाउन सुझाव दिइन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनु पर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीले भनिन् । उनले आजभोली नेपाली फिल्महरु हलमै पुगेर हेरिरहेकी छन् ।
पहिलो पटक हेर्दा आँत नभरिएर दोस्रो पटक फिल्म हेर्न आएका एमालेका प्रभावशाली नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको गतिलो जवाफ रहेको बताए । ‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा फिल्मको कोटीमा पर्छ । नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि यो जवाफ हो,’ नेता पन्तले भने ।
साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिँदै फिल्म हेर्दा आफूलाई डेढ घन्टा मौन साधना गरेको महसुस भएको बताए । ‘कथा भन्ने यति सहज शैली यसअघि मैले नेपाली फिल्ममा देखेकै थिइनँ । यो फिल्मले हाम्रो दिमागमा ‘प्रश्न’ उमार्छ । सुन्दर सुइटरझैं बुनिएको पटकथा र निर्देशनले फिल्मलाई भव्य उचाइँ दिलाएको छ । यो नेपाली फिल्मको ठूलो प्राप्ति हो,’ उनले भने ।
निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने फिल्म रहेको बताए । ‘झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म हो । अर्गानिक वा मौलिकताका नाममा बनिरहेका फिल्महरुको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेको छ । ‘ऐना झ्यालको पुतली’ हेरेर इर्ष्या नै लाग्यो,’ उनको भनाई छ ।
प्रिमियरमा उपस्थित दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । सुजित बिडारीको लेखन तथा निर्देशन रहेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ । फिल्मको छायांकन संखुवासभामा भएको हो ।
आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मको ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

