
एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाले नेपाल राष्ट्र बैंकबाट अवकास पाएपछि फिल्म ‘झिँगेदाउ’बाट ७ वर्षपछि निर्देशनमा कमब्याक गरे । अहिले यो फिल्मले हलमा सुखद् व्यापार गरिरहेको छ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र साथले उनले आफ्नो कमब्याक सफल भएको महसुस गरेका छन् । देउजा अब निरन्तर रुपमा फिल्म बनाउने तयारीमा समेत देखिएका छन् ।
उनले नयाँ फिल्म निर्माता छविराज ओझासँग मिलेर बनाउने भएका छन् । ज्ञानेन्द्रको निर्माणसँगै निर्देशन रहने फिल्मको नाम ‘जेल ब्रेकर’ राखिएको छ । ‘झिँगेदाउ’को प्रिमियरको दिन फिल्मको विषयमा जानकारी दिन बाँडिएको पर्चाको अन्तिममा ‘जेल ब्रेकर’को थिम पोस्टर राखिएको थियो । जसमा ‘बन्द पर्खालदेखि खुल्ला आकाशसम्म’ भनेर फिल्मको कथासार प्रस्ट्याउन खोजिएको छ ।
थिम पोस्टरमा एक राइफल र भित्ता फोडिएको जेलको चित्र छ । जेलको भित्ता तोडेर भाग्ने एक कैदीको कथामाथि फिल्म निर्माण हुन लागेको पोस्टरबाट बुझ्न सकिन्छ । फिल्म सत्य घटनामाथि आधारित रहने पोस्टरमा उल्लेख गरिएको छ । कपनगडी फिल्मस् र गुड न्यूज इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको यस फिल्मको छायांकन माघमा हुने निर्देशक देउजाले जानकारी दिए ।
उनले भने- ‘एउटा किताबमाथि फिल्म बनाउन लागेका हौं । तर, फिल्मको कथा वास्तविक हो । जाडो महिनाको कथा भएकाले मध्य जाडोमा छायांकन गर्नेछौं । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ ।’ दशैंपछि कलाकार छनोट कार्य सुरु गर्ने तयारीमा निर्देशक देउजा छन् । यसअघि देउजा र छविराज ओझाले फिल्म ‘हिफाजत’मा सहकार्य गरेका थिए, जुन सुपरहिट भएको थियो ।

