Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

क्यूएफएक्स चेनमा ‘झिँगेदाउ’लाई सबैभन्दा बढी शो, ‘प्रकाश’ दोस्रो

फिल्मीखबर, काठमाडौं, 2022/09/06
नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सबाट पछिल्लो समय नेपाली निर्माताले मोटो शेयर हात पार्ने गरेका छन् । फिल्म हेर्नका लागि दर्शकहरुको पनि पहिलो रोजाई क्यूएफएक्स बन्ने गरेको छ । क्यूएफएक्समा दर्शकको उपस्थितिले देशभर फिल्मको अवस्था कस्तो छ भन्ने लगभग थाहा हुन्छ । त्यसैले पनि यो चेनमा फिल्म चलाउन र शो बढी पाउन निर्माताहरुको ठूलै दौडधुप हुने गर्छ ।  
 
क्यूएफएक्सले शो बाँडफाँडमा नेपाली फिल्ममाथि अन्याय गर्ने गरेको बेला बखतमा निकै सुनिन्छ । ठूलो विदेशी फिल्म आउँदा यो देखिएको पनि छ । तर, विदेशी फिल्म नचलेको अवस्थामा क्यूएफएक्सले काखी च्यापेरै भने बसेको छैन । यसको तात्तातो उदाहरण ‘लाइगर’ हो । सुरुवातमा आक्रामक शो दिएको क्यूएफएक्सले दर्शक नआएपछि यो फिल्मलाई खासै माया गरेको छैन ।
 
keki adhikari and pradeep khadka
 
यतिबेला क्यूएफएक्स चेन नेपाली फिल्मले भरिभराउ छ भने शोमा पनि नेपाली फिल्म अगाडि छन् । यो हप्ता क्यूएफएक्स चेनमा सबैभन्दा बढी शो पाउने फिल्म ‘झिँगेदाउ’ बनेको छ । पहिलो दिन २४ शो पाएको फिल्मलाई मंगलवार ३१ शो उपलब्ध गराइएको छ । क्यूएफएक्सले कलेक्सनको आधारमा शो बढाउने गरेको छ । यस हिसाबमा ‘झिँगेदाउ’को व्यापार राम्रो रहेको बुझ्न सकिन्छ ।
 
‘झिँगेदाउ’पछि क्यूएफएक्समा बढी शो पाउनेमा अघिल्लो हप्ताको फिल्म ‘प्रकाश’ छ । पहिलो दिन १३ शो दिएको क्यूएफएक्सले दर्शकको चाप बढ्न थालेपछि शनिवारबाट ठूलो मात्रामा शो बढाएको थियो । पहिलो हप्ता क्यूएफएक्स चेनमा २५ देखि ३० को आसपासमा शो पाएको फिल्मलाई दोस्रो हप्ताको मंगलवार २२ शो छ । दोस्रो हप्तामा पनि यति ठूलो शो पाउनु अत्यन्त राम्रो हो । 
 
‘झिँगेदाउ’सँगै यो हप्ता प्रदर्शनमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई क्यूएफएक्स चेनमा ‘प्रकाश’भन्दा कम शो मिलेको छ । फिल्मले मंगलवार २१ शो पाएको छ । प्रदर्शनको पहिलो दिन यो फिल्म र ‘झिँगेदाउ’लाई बराबर शो बाँडिएको थियो । अन्य राजधानीका मल्टीप्लेक्समा पनि ‘झिँगेदाउ’को शो संख्या बढी छ । यसरी हेर्दा यो फिल्मप्रति दर्शकको आकर्षण बढेको देखिन्छ । 
 
अब अघिल्लो हप्ताको ‘प्रकाश’ र यो हप्ताका ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’लाई शुक्रवारबाट प्रदर्शन हुन लागेको बलिउड फिल्म ‘ब्रम्हास्त्र’ ठूलो चुनौती बन्न सक्नेछ । भारतमा रेकर्डतोड एड्भान्स बुकिङ मिलेको फिल्मले नेपालमा पनि आक्रामक कमाई गर्ने अनुमान गरिएको छ । शुक्रवारबाट दुई नेपाली फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ र ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुँदैछन् ।