तीन तीनपछि अभिनेत्री आँचल शर्माले अभिनय गरेको फिल्म दर्शकहरुले हलमा हेर्न पाएका छन् । शुक्रवारबाट प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘झिँगेदाउ’ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मले हलमा दर्शकको चाप बढाउँदै लगेको छ । विशेषगरी परिवारको साथमा फिल्म हेर्ने दर्शकको संख्या हलमा बढी मात्रामा देखिएको छ ।

शुक्रवार र शनिवार काठमाडौंका दर्शकहरुको प्रतिक्रिया बुझ्न विभिन्न हलहरुमा पुगेकी आँचलले सोमवार श्रीमान् उदिप श्रेष्ठको जन्म जिल्ला चितवन पुगेर ‘झिँगेदाउ’ हेर्ने दर्शकहरुसँग प्रत्यक्ष भेट गरेकी छन् । डेढ करोड आसपासको पजेरो स्पोर्ट गाडी चढेर उनी चितवनमा रहेका क्यूएफएक्सको जलमा र इन्द्रदेव हल पुगेकी थिइन्, जहाँ उनलाई हेर्नका लागि ठूलो भीड लागेको थियो ।

आँचल पुगेका कारण सोमवार चितवनमा ‘झिँगेदाउ’ले ८० प्रतिशत माथि अकुपेन्सी कायम गरेको वितरकले बताएका छन् । फिल्म हेर्न महिलाहरुको बढी उपस्थिति थियो । परिवारसहित फिल्म हेर्न आएकी एक जेष्ठ आमाले आँचललाई भेट्दा अंगालो हाल्दै आँसु बगाइन् । आँचलले पनि ती आमाप्रति अगाध प्रेमभाव दर्शाइन् । दर्शकहरुको यसप्रकारको मायाले आँचल खुसीमा हराएकी छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा आँचलसँगै मुकुन भुषाल, केकी अधिकारी, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय छ । भिमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ माथि बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्म हलमा लामो समय टिक्नेमा निर्देशक देउजा विश्वस्त छन् ।

