
उपचारको क्रममा गत बर्ष नर्भिक इन्टरनेशन अस्पतालमा निधन भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको स्मृतिमा स्थापित कोषले अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच पवित्रा र उषालाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
त्यस्तै, घिमिरेको उपचारमा लाखौं खर्च गरेको नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचारको लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरियो । कोषका संयोजक दुर्गानाथ दाहाल, प्रथम अभिनेत्री भुवन थापा चन्द, अभिनेत्री मिथिला शर्मा बोहरालगायतले सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।
उक्त कोषका सदस्य सचिव मोहन निरौलाले घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक बर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए । मोडलिङमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार प्रदान गरिने उनको भनाई छ । भुवन थापा चन्द र मिथिला शर्माले यस्ता पुरस्कार तथा सम्मानहरुले कलाकारहरु प्रोत्साहित हुने धारणा राखे ।
कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए । भारतमा अभिनयको कोर्स गरिरहेको समयमा निशा दुर्घटनामा परेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’ सँगै म्यूजिक भिडियो र टेलिसिरियलहरुमा काम गरेकी छन् ।

