Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अभिनय ठूलो जिम्मेवारी हो, म स्टेजमै ठीक छु : नितेशजंग कुवँर

फिल्मीखबर, काठमाडौं, 2022/09/05
आफ्नो गायकीबाट युवापुस्तामा लोकप्रिय नितेशजंग कुवँरले नायकको रुपमा डेब्यू गर्न करीब २ वर्ष अगाडि फिल्म ‘बाबरी’ साइन गरेका थिए । उनले केही हप्ता फिल्मको वर्कसप पनि गरे । तर, छायांकनमा निस्कने बेला उनले अचानक फिल्मबाट हात झिके र नितेशको ठाउँमा निर्माण टिमले अभिनेता धिरज मगरलाई भित्रायो । जुन फिल्म आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
सोमवार ‘दशैं फेस्ट’ कन्सर्टको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नितेशले परिवारमा आएको समस्याका कारण ‘बाबरी’मा काम गर्न नसकेको स्पष्ट पारेका छन् । उनले भने, ‘त्यसबेला मेरो बुबा विरामी हुनुहुन्थ्यो । पछि स्वर्गीय हुनुभयो । त्यो समय मेरो लागि गाह्रो थियो । तर, अहिले लाग्छ म म्यूजिसियन हुनै जन्मेको हुँ र स्टेजमै ठीक छु । अभिनय ठूलो जिम्मेवारी हो ।’
 
Neetesh Jung Kunwar
 
‘बाबरी’को ट्रेलर हेरेर आफूले टिमलाई बधाई दिएको नितेशले बताए । ‘मैले फिल्मको ट्रेलर हेरेँ, राम्रो लाग्यो । वर्कसप गर्दा सुरेन्द्र पौडेल दाई (निर्देशक) ले यो मैले तिमीलाई नै सोचेर स्क्रिप्ट लेखेको हो भन्नु हुन्थ्यो । रमाइलो थियो त्यो क्यारेक्टर । मैले राम्ररी ‘पोट्रे’ पनि गरेको थिएँ । तर, त्यस्तै परिस्थितिले गर्न पाइनँ । अहिले त्यो क्यारेक्टर धिरज मगरले गरेको छ, खुसी छु,’ उनले भने । 
 
‘बाबरी’ छाडेको केही समयपछि उनले गायनबाट पनि विश्राम लिने घोषणा गरेका थिए । हालै मात्र उनले सामाजिक सञ्जालमार्फत् आफ्ना प्रशंसकहरुसँग माफी माग्दै गायनमा फर्किने उद्घोष गरेका छन् । जसले उनका प्रशंसकहरुमा खुसी छाएको छ । अब नितेश आफ्नो कमब्याक कन्सर्ट बडा दशैंको अवसर पारेर असोज १५ गते दशरथ रंगशालामा हुने ‘दशैं फेस्ट’ मार्फत् गर्दैछन् । 
 
तीन वर्षपछि कन्सर्टमा फर्किन लागेका उनले भने- ‘गायनबाट टाढा बस्दा आफूले आफूलाई चिनेँ । पब्लिकमा पुगेपछि मान्छेको बेग्लै लुक र तौल हुन्छ । जब छुट्टै बसिन्छ, त्यसबेला आफूले आफूलाई झन् चिन्न पाइन्छ । आफूले आफूलाई चिनेपछि कलालाई झन् राम्रो हुन्छ । गायनबाट टाढा बस्दा मेरो आर्टलाई थप सहयोग पुग्यो । मेरो काम इन्टरटेन गर्ने हो र अब यही बाटोमा हिँड्छु ।’