‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता उम्दा फिल्मका निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक तीनवटा पोस्टरमा कलाकारहरु दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झा देखिएका थिए । दोस्रो चरणको पोस्टरमा भने दयाहाङ र सुरक्षाका साथै बाल कलाकार आयुशी ढकाल प्रस्तुत छन् ।
भूईंमा विछ्याइएको ओछ्यानमा पल्टिएका परिवारका तीन सदस्यको फरक-फरक मनोदशा सार्वजनिक पोस्टरमार्फत् दर्शाइएको छ । दयाहाङ राई गहिरो निन्द्रामा छन् । आयुशी ढकाल आशाको भावले माथितिर हेरिरहेकी छन् । सुरक्षा पन्तलाई निराश मुद्रामा निदाउन नसकेको अवस्थामा चित्रण गरिएको छ । फिल्ममा उनीहरु काठमाडौंमा डेरामा बस्ने पात्रको भूमिकामा रहेको बुझिन्छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको यस फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय छ । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा देखाउनेछ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंभित्रै भएको हो ।
सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । ‘जात्रै जात्रा’पछि दयाहाङ र विपिन एकसाथ देखिएकाले यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ ।

