
अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यू फिल्म ‘लाइगर’को असफलताले निर्मातालाई ठूलो झट्का दिएको छ । प्रदर्शनपूर्व फिल्मको राम्रो हाइप थियो । विजय पनि फिल्मलाई लिएर कन्फिडेन्ट थिए । तर, ‘डेट एक्सपायर्ड’ कथावस्तुका कारण ‘लाइगर’ बक्सअफिसमा डुब्यो । फिल्म असफल भएपछि विजयले निर्मातालाई पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्ने घोषणा गरेका छन् ।
‘लाइगर’ सय करोडको बजेटमा बनेको फिल्म हो । तर, फिल्मको लाइफटाइम कलेक्सन ५० करोड पनि नपुग्ने देखिन्छ । अर्थात् फिल्म ‘डिजास्टर’ भएको छ । फिल्मको असफलताले निर्मातालाई ठूलो आर्थिक घाटा भएपछि विजयले आफ्नो पारिश्रमिकबाट ६ करोड भारु फिर्ता गर्ने भएका छन् । ‘लाइगर’का लागि उनले २०/२५ करोड पारिश्रमिक बुझेको इन्डिया टूडेले उल्लेख गरेको छ ।
विजय देवरकोन्डा चाँडै निर्देशक पुरी जगन्नाठसँग नयाँ फिल्म ‘जन गण मन’मा काम गर्दैछन् । ‘जन गण मन’को बजेट ‘लाइगर’को असफलतापछि केही कम गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । त्यस्तै, विजय र जगन्नाठले यो फिल्ममा काम गर्नका लागि पारिश्रमिक नलिने घोषणा गरेका छन् । फिल्म सफल भए मात्र विजय र जगन्नाठले नाफाको केही प्रतिशत प्राप्त गर्नेछन् ।
कतिपयले ‘लाइगर’ फ्लप हुनुको कारण बलिउडमा चलेको बाइकट ट्रेन्डलाई मानेका छन् । फिल्म ‘लाल सिंह चड्ढा’लाई बाइकट गरिएकोप्रति आफ्नो बयान दिँदै विजयले भनेका थिए, ‘कसैले कुनै फिल्मको विरोध गर्छ भने आमिर खान मात्र होइन, ती हजारौं परिवार पनि प्रभावित हुन्छन्, जसले आफ्नो काम गुमाउनेछन् ।’ यसपछि नै विजयको फिल्मको बाइकट ट्रेन्ड सुरु भएको थियो ।

