Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विएसआर मुभिजले जेष्ठ आमाहरुलाई ‘झिँगेदाउ’ सित्तैमा देखाउने

फिल्मीखबर, काठमाडौं, 2022/09/04
७ वर्षपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ शुक्रवारबाट प्रदर्शनरत छ । पहिलो दिन औसत व्यापार गरेको फिल्मले शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुल व्यापार गर्‍यो । यसलाई देउजाले आफ्नो कमब्याक सफल भएको महसुस गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्नेमा उनी विश्वस्त छन् । 
 
keki adhikari and aachal sharma
 
फिल्मले आमा र सन्तानबीचको कथा भनेको छ । यही कारण काठमाडौंको गोंगबुस्थित बिजी मलमा रहेको विएसआर मुभिजले आइतवारबाट लागू हुने गरी ‘झिँगेदाउ’ प्रदर्शन भइन्जेल जेष्ठ आमाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ । सम्पूर्ण आमाहरुलाई फिल्म देखाउने माहोल बनाउनका लागि विएसआरले यो घोषणा गरेको निर्देशक देउजाले जानकारी दिए । 
 
विएसआरका एक प्रतिनिधिले भने- ‘हाम्रो उद्देश्य नेपाली फिल्महरुलाई साथ-सहयोग गरौं भन्ने नै हो । ज्ञानेन्द्र सरले कमब्याकमा जुन सफलता पाउनुभएको छ र ‘झिँगेदाउ’ हेर्दा हामी पनि इमोसनली अट्याचमेन्ट भयौं । त्यसैले आइतबारबाट फिल्म जहिलेसम्म चल्छ, जेष्ठ आमाहरुलाई सित्तैमा फिल्मको टिकट प्रदान गर्नेछौं र सबैलाई आफ्नो आमा लिएर फिल्म हेर्न आउन अनुरोध गर्दछौं ।’
 
विएसआरको यो घोषणाप्रति खुसी व्यक्त गर्दै अभिनेत्री केकी अधिकारीले निर्देशनमा ज्ञानेन्द्र देउजासँगै पारिवारसहित फिल्म हेर्न आउने दर्शकको पनि कमब्याक भएको बताइन् । उनी भन्छिन्, ‘वर्षौंपछि परिवारसहित फिल्म हेर्न हलमा दर्शक आउनु नेपाली फिल्म क्षेत्रकै लागि खुसीको कुरा हो । त्यसमाथि विएसआर मुभिजले जुन घोषणा गरेको छ, त्यसले हामीलाई हौसला दिएको छ ।’ 
 
फिल्म हेरेर दर्शकले दिएको स्यावासी आफ्नो लागि ठूलो उपलब्धि रहेको निर्देशक देउजा बताउँछन् । उनले फिल्मको कथा वर्षौं पहिलेको भए पनि कहिल्यै पुरानो नहुने कथा रहेको बताए । अभिनेत्री आँचल शर्माले काखमा बच्चा च्यापेर समेत फिल्म हेर्न दर्शक आएको देख्दा त्यो खुसी व्यक्त गर्ने शब्द नभएको बताइन् । आइतवार पनि ‘झिँगेदाउ’ हेर्ने दर्शकको उपस्थिति सुखद् छ ।
 
तस्विर : सुरेन्द्र थापा (स्माइल)