Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

माओवादीप्रति लक्षित गरेर ‘प्रकाश’ बनेको भन्दै शिक्षा मन्त्रीको आपत्ति

फिल्मीखबर, काठमाडौं, 2022/09/04
भदौ १० गतेबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले फिल्म हेरिरहेका छन् । यसैक्रममा, शनिवार माओवादी केन्द्रका नेता तथा शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पनि फिल्म हेरे । तर, उनले फिल्ममा प्रयोग दृष्य तथा बिम्बप्रति आपत्ति जनाएका छन् । 
 
फिल्ममा कम्युनिष्ट पार्टीको झण्डा प्रयोग गरिएको छ भने जनयुद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रशंगलाई प्राथमिकताका साथ उठाइएको छ । उनले यस्ता दृष्य तथा बिम्बहरु १० वर्ष जनयुद्ध लडेर आएको माओवादी पार्टीप्रति लक्षित गरिएको र राजनीतिक पूर्वाग्रहसहित फिल्म निर्माण भएको बताए । फिल्म शिक्षासँग भन्दा राजनीतिसँग सम्बन्धित भएर प्रकट भएको उनको निष्कर्ष छ ।
 
minister-devendra-paudel
 
मन्त्री पौडेलले भने- ‘मैले फिल्म हेर्दा शिक्षासँग भन्दा पनि एउटा आस्थासँग र राजनीतिसँग सम्बन्धित देखेँ । फिल्मभित्र देखाइएको कम्युनिष्ट पार्टीको झण्डा, त्यहाँ प्रस्तुत गरेको बिम्ब, गलत काम गर्नेलाई जनयुद्ध लडेको पार्टीबाट निर्वाचन जितेको देखाइएको छ । यसको सन्देश शिक्षासँग भन्दा पनि कुनै एक राजनीतिक दलसँग सम्बन्धित भएर फिल्म निर्माण भएको मलाई महसुस भयो ।’
 
‘प्रकाश’ एउटा आन्दोलनसँग जोडिएको भन्दै जुन स्थानको कथा देखाइएको हो त्यहाँका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने उनको भनाई छ । ‘फिल्मको अन्त्यमा जुन दृश्य देखाइएको छ, त्यो वास्तवमै भएको छ कि छैन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो । तर, आज पनि त्यहाँका जनताहरुको विश्वास त्यही जनयुद्ध लडेको पार्टीप्रति छ,’ मन्त्री देवेन्द्र पौडेलले भने । 
 
फिल्मले नेपालमा शिक्षाको स्तर र शिक्षा क्षेत्रमा हुने राजनीतिलाई पनि देखाएको छ । तर, शिक्षा मन्त्री पौडेल अहिले सामुदायिक विद्यालयको अवस्थामा धेरै भएको भएको दाबी गर्छन् । अहिले शिक्षामा धेरै सुधार भइसकेको भन्दै उनले अब पनि फिल्ममा ४० वर्ष पहिलेको जस्तो गरि देखाउन नहुने बताए । यद्यपि, फिल्म अत्यन्त राम्रो बनेको र एउटा सन्देश दिन खोजेकोमा प्रशंसा गरे । 
 
दोस्रो हप्तामा प्रदर्शन फिल्मले राजनीतिक क्षेत्रमा एउटा बहस नै छेडेको छ । जनयुद्धपछि व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएको भन्ने मुद्धालाई उठान गरेको फिल्मको क्लाइमेक्सले राजनीतिकर्मीलाई गतिलो झाप्पड हानेको छ । महेन्द्र अधिकारी निर्मित यस फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थीलगायतको अभिनय छ ।