जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि फिल्म ‘प्रकाश’ले केही हदसम्म दर्शक हलसम्म तान्यो । यसैक्रममा, शुक्रवारबाट प्रदर्शनमा आएका दुई आशातित फिल्म ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले पनि बक्सअफिसमा सुखद् उपस्थिति जनाएका छन् । शुक्रवार ६०/६५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेका दुवै फिल्मले शनिवार भने ८०/९० प्रतिशत अकुपेन्सी पाए ।
.jpg)
नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा शनिवारका लागि दुवै फिल्मले जति शो पाएका थिए, त्यसमा दर्शकको अभाव रहेन । क्यूएफएक्सको लबिम, छायाँ सेन्टर, सिभिल मलमा दुवै फिल्म दिउँसभर लगभग हाउसफुल थिए । बिग मुभिज, एफक्यूब, विएसआर, वान सिनेमाज् लगायतमा पनि दर्शकको उपस्थिति राम्रो थियो । मोफसलका मल्टीप्लेक्समा पनि अवस्था सुखद् रह्यो ।
सिंगलतर्फ पनि शनिवार देशभर दुवै फिल्म हेर्ने दर्शक उच्च थिए । बालाजुको अष्टनारायण हलमा ‘सम्हालिन्छ कहिले मन’का तीन कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन पुग्दा दर्शकहरुको ठूलो भीड देखिएको थियो । अष्टनारायणमा यो फिल्मको शनिवारको व्यापार ‘कबड्डी ४’पछिकै उच्च रहेको जानकारी प्राप्त छ । अष्टनारायणमा ‘झिँगेदाउ’ले पनि राम्रो व्यापार गरेको छ ।

दुवै फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । ‘झिँगेदाउ’लाई दर्शकहरुबाट मिलेको प्रतिक्रियाले अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा खुसी देखिएका छन् । केकी भन्छिन्, ‘दर्शकहरुबाट जुन माया पाएका छौं, त्यसबाट एकदमै उत्साहित छौं । हरेक दृश्यमा हामीले सोचेकै ठाउँमा दर्शकहरुले सेलेट गर्नुभएको छ । हाम्रो लागि यही ठूलो जित हो ।’
अब ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’को भविष्य आइतवारदेखिको दर्शक उपस्थितिले निर्धारण गर्नेछ । शुक्रवार र शनिवार दुवै फिल्मलाई कलाकारको स्टारडम, गीत-संगीत र ट्रेलरले दिलाएको हाइपले फाइदा मिलेको हो । अब फिल्मको कन्टेन्ट (कथा) हिरो बन्नु पर्छ । दुवै फिल्मको टिम वर्ड अफ माउथ बलियो भएकाले आइतवारबाट पनि दर्शकको साथ राम्रो मिल्नेमा विश्वस्त छ ।
ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथा भनेको छ । ३०/४० वर्ष अगाडिको नेपाली समाजको कथामा फिल्म आधारित छ । त्यस्तै, सुदर्शन थापाको निर्देशनमा बनेको ‘सम्हालिन्छ कहिले मन’ले त्रिकोणात्मक प्रेमकथा बोलेको छ । फिल्ममा गीत-संगीत र छायांकन पक्ष सानदार छ । यो फिल्मबाट हिरो बनेका सोनम तोप्देनले अभिनयमा राम्रो सम्भावना देखाएका छन् ।

