टिकटक एपले नेपाली फिल्मकर्मीलाई सुखीसँगै दुःख पनि दिइरहेको छ । फिल्मका गीतमाथि टिकटक बन्दा दंग हुने फिल्मकर्मी फिल्मको दृश्य खिचेर टिकटकमा हालिदिँदा भने तनावमा हुने गरेका छन् । ‘म यस्तो गीत गाउँछु २’, ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ जस्ता फिल्मका दृश्य हलमा खिचेर दर्शकहरुले टिकटकमा हालेका थिए । अहिले यसको शिकार फिल्म ‘झिँगेदाउ’ बनेको छ ।
फिल्मका केही महत्त्वपूर्ण दृश्यहरु दर्शकहरुले फलोअर्स बढाउने नाममा टिकटकमा हालिरहेका छन् । टिकटकमा ‘झिँगेदाउ’को ३-४ मिनेटसम्मका क्लिपहरु भाइरल छन् । हलमा फिल्मको दृश्य खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नु साइबर अपराध हो । तर, दर्शकहरुले यो कुरा बुझेको देखिन्नन् । फिल्मकर्मीहरुले पनि यो कार्य गर्नेविरुद्ध अहिलेसम्म कानुनी बाटो रोजेका छैनन् ।
.jpg)
हलमा फिल्मको दृश्यहरु खिचेर टिकटकमा हाल्ने क्रम बढेपछि निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा कानुनी बाटो रोज्ने तयारीमा छन् । उनले भने, ‘हामीले टिकटकमा आएका भिडियो हटाउन टिकटक कम्पनीमा इमेल गरेका छौं । फिल्मको दृश्य खिचेर टिकटकमा हाल्ने क्रममा नरोकिए हामी कारवाहीका लागि साइबर ब्यूरो जानेछौं । यस्तो कार्य दण्डनीय छ भन्ने बुझ्न जरुरी छ ।’
उनी फिल्मलाई मिलेको प्रतिक्रियाबाट भने खुसी देखिए । शुक्रवार केही हलमा फिल्म हाउसफुल भएको बताउँदै उनले शनिवार देशभर दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए । निर्देशक देउजाले भने, ‘दर्शकहरुले फिल्म रुचाउनुभएको छ । काठमाडौंका प्रायः मल्टीप्लेक्समा पाएको शो शनिवार हाउसफुल हुने अवस्थामा छन् । फिल्मको वर्ड अफ माउथ बलियो छ ।’
एक परिवारभित्रको कथामा निर्माण भएको फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय रहेको छ । भिमनिधि तिवारीले लेखेको चर्चित कथा कृति ‘झिँगेदाउ’ माथि आधारित भएर बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

