
कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै निधन भएको जानकारी प्राप्त छ । ६६ वर्षका उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।
उनले एकसेएक सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका छन् । उनले कला निर्देशनसँगै फिल्ममा भेषभुषा समेत हेर्ने गर्दथे । तर, प्रविधिले फड्को मारेसँगै उनी पछिल्लो समय कामविहीन थिए । आफू नजिक फिल्मकर्मीसँग उनले फिल्म क्षेत्रले आफूलाई विर्सिएको गुनासो गर्ने गरेका थिए । कुशल कलाकार समेत रहेका भट्टराई ४ दशकदेखि फिल्ममा सक्रिय थिए ।
‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए । त्यसयता उनको हातमा काम थिएन । २०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन् ।

