
निर्माता, कलाकार, निर्देशक एवं नेपाली कांग्रेसका नेता रोज राणाको नाम प्रदेश सभा सदस्यमा सिफारिस भएको छ । कांग्रेस प्युठान प्रदेश (ख) का क्षेत्रीय सभापति समेत रहेका उनको नाम क्षेत्रीय समितिले पहिलो नम्बरमा राखेर जिल्लामा सिफारिस गरेको हो । अब कांग्रेसको प्युठान जिल्ला कमिटीले उनलाई प्रदेश सदस्यको उम्मेदवार बनाउने वा नबनाउने भन्ने कुराको निधो गर्नेछ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्युठान प्रदेश सभातर्फ (ख) का लागि रोजसहित मेनका घिमिरे र शालिकराम पण्डितको नाम क्षेत्रीय समितिले प्रत्यक्षतर्फ सिफारिस गरेको हो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकै नजिक मानिने रोज राणाले प्रदेश सभा सदस्यका लागि टिकट पाउने सम्भावना प्रवल रहेको जानकारी प्राप्त छ ।
प्रदेश सभा सदस्यको टिकटका लागि राणाले नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा समेत उम्मेदवारी दिएनन् । उनी निर्माता संघका अहिलेका महासचिव हुन् । अध्यक्षका लागि उनी प्रवल दाबेदार थिए । तर, बिहीवार भएको मनोनयन प्रक्रियामा उनले कुनै पदमा उम्मेदवारी दिएनन् । जसले गर्दा अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भए । अब उनी प्रदेश सांसद् बन्ने दौडमा छन् ।
रोजले फिल्म ‘दादागिरी’बाट निर्माणमा हात हालेका थिए । त्यसपछि उनले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नी तिम्रो’ लगायतका फिल्म बनाए । यी फिल्ममा उनको अभिनय पनि छ । फिल्म ‘जय पशुराम’बाट निर्देशनमा समेत हात हालेका उनले पछिल्लो पटक फिल्म ‘मेरो पैसा खोइ ?’को निर्माण र निर्देशन गरेका थिए । यतिबेला उनी ‘खलनायक २’ बनाउने तयारीमा छन् ।

