नेपाली फिल्म क्षेत्रमा उमेरको आधा समय विताइसकेका अभिनेता शिव श्रेष्ठलाई बाल्यकालमा पेन्टिङप्रति निकै रुचि थियो । स्कूल र कलेज जीवनमा उनले अनगिन्ती चित्र कोरे । तर, फिल्ममा आएपछि उनले चाहेर पनि आफ्ना हात पेन्टिङका रंगले रंग्याउन सकेनन् । फिल्ममा व्यस्त हुन थालेपछि उनको चित्र कोर्ने बानी पनि हराउँदै गयो । तर, ४१ वर्षपछि उनले बिहीवार पेन्टिङ ब्रस समातेर चित्र कोरे । पेन्टिङ नगरेको वर्षौं भएकाले उनका हात केही लरखरिएका थिए ।

‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ले काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरेको एकदिने चित्रकला कार्यशालामा सहभागी हुने क्रममा शिवले प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले बनाएको स्वयम्भूनाथ स्तूपको चित्रमाथि ध्वजा-पताकाको चित्र कोरेका हुन् । चित्रको तल उनले अटोग्राफ शैलीमा आफ्नो हस्ताक्षर पनि गरे ।
४१ वर्षपछि पेन्टिङ ब्रस समातेर चित्र कोर्दा आफू बाल्यकालमा पुगेको शिव श्रेष्ठले स्मरण गरे । उनले फिल्मीखबरसँग भने, ‘स्कूल र कलेजमा मैले धेरै पटक पेन्टिङ गरेको थिए । मलाई चित्र कोर्न मन पर्छ । तर, फिल्ममा आएपछि पेन्टिङ गरेको थिइनँ । आज ४१ वर्षपछि पेन्ट गर्दा म स्कूले जीवनमा पुगेँ ।’ राष्ट्रलाई संसारमा चिनाउन चित्रकलाको ठूलो भूमिका रहने भन्दै चित्रकारलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।

विभिन्न देशहरुका डेल्फिक काउन्सिलहरुले सेप्टेम्बर १ मा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको हो । उक्त कार्यशालामा ८ बर्षदेखि ७० बर्षसम्मका ७५ जना विद्यार्थी तथा पेशागत चित्रकारहरुले ५ फिट उचाई तथा एक सय फिट लम्बाई रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ बिषयमा आधारित रहि विभिन्न चित्रकलाहरु तयार पारेका थिए ।
कार्यशालाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तूपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए । उद्घाटन गर्दै कुलपति कर्माचार्यले यो कार्यक्रम नेपालको लागि निकै नौलो र महत्त्वपूर्ण रहेको बताउँदै यो चित्रकला कार्यशालाले नेपालको कला-संस्कृतिलाई संसारमा चिनाउने विश्वास व्यक्त गरे ।

चित्रकला कार्यशालामा सहभागीहरुले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरुमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल (बाबुराम अर्याल) ले बताए । अर्यालले भने, ‘नेपालको कला क्षेत्र र कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच र सहभागिताको हेतु नेशनल डेल्फिक काउन्सिल नेपालले चालिरहेको अभियानमध्ये यो एक प्रमुख अभियान हो । कलाका सबै विधाहरुलाई समेटेर विश्वव्यापी रुपमा नेपाली कला र संस्कृतिलाई पहिचान दिलाउन र हाम्रो समृद्ध कलालाई मजबुत बनाउने हाम्रो प्रयास हो ।’
नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष तथा कार्यशालाका कार्यक्रम निर्देशक जीवन कुमार पराजुलीले कला क्षेत्रमा रुचि रहेका विद्यार्थी तथा कलाकारहरुको क्षमता प्रस्फुटन गरी अन्तर्राष्ट्रिय रुपमा नै पहिचान प्राप्त गर्ने एक खुड्किलोको रुपमा चित्रकला कार्यशालालाई लिएको बताए । उनले नेपालको कला-संस्कृति बिषयमा आधारित रहेर चित्रकलामार्फत नेपालको कला-संस्कृतिको विरासतलाई विश्वव्यापी बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेशनल डेल्फिक काउन्सिल नेपालका गुडविल एम्बास्डर तथा कलाकार क्याप्टेन विजय लामाले यसप्रकारको चित्रकला कार्यशालाले नेपालको कला-संस्कृतिलाई संसारभर चिनाउन मद्दत गर्ने बताए । ‘एउटै क्यानभासमा कैयन कलाकारहरुले चित्रकला प्रस्तुत गर्नु सानो कुरा होइन । कला, साहित्य, संस्कृतिले हाम्रो पहिचान दिलाउँछ । आजको कार्यशालाले नेपाललाई नयाँ पहिचान दिलाउनेमा विश्वस्त छु,’ लामाले भने ।
त्यस्तै, कार्यक्रम संयोजक जया शर्माले यस प्रकारका कार्यशालाहरुका कारण एकअर्कामा नयाँ विचार र नयाँ श्रृजना साझेदारी गर्न सकिने बताइन् । डेल्फिकले कलाका सबै विधालाई एउटै प्लेटफर्ममा समेटेकोले यो नेपालको लागि महत्वपूर्ण कुरा रहेको उनको भनाई छ । नेशनल डेल्फिक काउन्सिल नेपालका सचिव सुर्य बहादुर रास्कोटीले नेपालको कला-संस्कृतिलाई विश्वमाझ चिनाउने उद्देश्यले यो कार्यशाला आयोजना गरेको बताए ।

