नेपालको ठूलो मल्टीप्लेक्स च्यानल क्यूएफएक्स र डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती एपबीच सम्झौता भएको छ । बुधवार ललितपुरको लबिम मलमा आयोजित पत्रकार सम्मेलनमा दुई संस्थाका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरे । अब क्यूएफएक्स चेनका ११ वटा हलहरुमा नेपाली तथा विदेशी फिल्म हेर्न चाहने दर्शकहरुले खल्ती एपबाट सहज रुपमा टिकट काट्न सक्नेछन् ।
खल्तीबाट टिकट काट्दा ५० सेकेन्डभन्दा बढी समय नलाग्ने खल्तीका सिइओ बिनय खड्काले जानकारी दिए । उनले भने, ‘नेपाली फिल्मको प्रमोसन र फिल्मको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्ती एपले नयाँ सोच लिएर अगाडि बढेको हो । नेपाली फिल्मप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि थप सहज होस् भनेर क्यूएफएक्ससँग हामीले सहकार्य गरेका हौं ।’
दुई संस्थाबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा अभिनेत्री पूजा शर्माले शुक्रवारबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो टिकट खल्ती एपबाट बुक गरेकी थिइन् । टिकट काट्न लामो लाइन बस्नुपर्ने झन्झटबाट अब दर्शकहरु मुक्त भएकोमा उनले खुसी व्यक्त गरिन् । उनको यो फिल्मलाई क्यूएफएक्स चेनले २४ शोज उपलब्ध गराएको छ ।
खल्ती एपले अचेल डिजिटल वालेट र नेपाली फिल्मप्रति आम मानिसको आकर्षण बढाउन विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । ‘प्रेमगन्ज’ लगायतका केही नेपाली फिल्मको टिकट खल्ती एपबाट काट्दा खल्तीले दर्शकहरुलाई ५० प्रतिशत क्यासब्याक दिएको थियो । डिजिटल दुनियाँमा आजभोली डिजिटल वालेटकै माध्यमबाट फिल्मको टिकट काट्ने दर्शकको संख्या बढ्दो छ ।

