Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

‘कबड्डी ४’पछि ‘प्रकाश’ले तानेको हो दर्शक ?

फिल्मीखबर, काठमाडौं, 2022/08/31
यो हप्ता बलिउड फिल्म ‘लाइगर’सँगै दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आए । प्रदर्शनको पहिलो दिन ‘लाइगर’माथि मल्टीप्लेक्स सञ्चालकहरुले ठूलो विश्वास गर्दा दुई नेपाली फिल्मले न प्राइम टाइम शो पाए न पर्याप्त शो । यद्यपि, प्रदर्शनको पहिलो दिन ‘प्रकाश’भन्दा मल्टीप्लेक्समा ‘राधा’ले बढी शो पाएको थियो । त्यसैले यसका निर्माता राम्रो शो पाउँदासम्म दंग भएर मौन बसे ।
 
तर, ‘प्रकाश’को टिमले प्राइम टाइम शो र पर्याप्त शो नपाएको भन्दै विशेषगरी नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सविरुद्ध आक्रोश पोख्यो । फलतः शनिवारबाट फिल्मले क्यूएफएक्समा गजबको शो पायो । तर, ‘राधा’को शनिवारबाट शो घट्दै गयो । अन्ततः हलवालाहरुले फिल्मलाई एक हप्ता पनि टिक्न नदिने देखेपछि निर्माण टिमले मंगलवारबाट फिल्म उतार्ने घोषणा गर्‍यो । 
 
pradeep khadka
 
‘प्रकाश’का तीन कलाकारहरु दीया मास्के, प्रदीप खड्का र रेनु योगी
 
उता ‘प्रकाश’ले भने क्यूएफएक्स चेनमा शो संख्या बढाउँदै लगेको छ । १३ शोबाट सुरु भएको फिल्मले बुधवार क्यूएफएक्स चेनमा ३१ शो पाएको छ । क्यूएफएक्स चेनले व्यापार हेरेर मात्र शो बढाउँछ । यसको मतलब ‘प्रकाश’को व्यापार सुखद् छ भन्ने बुझिन्छ । क्यूएफएक्सका सञ्चालकमध्ये एक भाष्कर ढुंगाना पनि आफूहरुले अनुमान गरेभन्दा राम्रो व्यापार फिल्मले गरिरहेको बताउँछन् ।
 
उनले फिल्मीखबरसँग भने, ‘हामीले अपेक्षा गरेभन्दा राम्रो व्यापार ‘प्रकाश’ले गरिरहेको छ । ‘कबड्डी ४’पछि ‘प्रकाश’ हेर्न दर्शक आएका छन् । क्यूएफएक्स चेनमा फिल्मले राम्रो गरिरहेको छ । हामीले अपेक्षा गरेभन्दा धेरै नै राम्रो व्यापार ‘प्रकाश’ले गरिरहेको छ, यो दुई/चार दिनमा ।’ क्यूएफएक्स च्यानलले ‘प्रकाश’भन्दा ‘राधा’ चल्ने विश्वासमा बढी शो दिएको पनि उनी स्पष्ट बताउँछन् । 
 
‘द्वन्द्वको कथामा बनेका पछिल्ला चार/पाँचवटा फिल्मको व्यापार हेर्दा ‘प्रकाश’बाट हामीलाई ठूलो अपेक्षा थिएन । हामीले खासमा ‘राधा’ बढी चल्छ भन्ने सोचेका थियौं । त्यही हिसाबमा ‘राधा’लाई बढी शो दिएका थियौं । हुन त हामीले अनुमान गरेभन्दा विपरित परिणाम आएका अरु पनि कयैन् फिल्महरु छन् । यसपटक ‘प्रकाश’ हाम्रो अनुमानभन्दा फरक रुपमा उत्रियो,’ भाष्करले भने । 
 
‘प्रकाश’ राम्रो चल्नुमा प्रदीप खड्काको स्टारडम र फिल्म आफैंमा बलियो भएर हुनसक्ने उनको विश्लेषण छ । क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद नगरेको पनि उनले स्पष्ट पारे । उनी भन्छन्, ‘हामीले त ट्रेन्ड हेर्ने हो । त्यो फिल्म कहाँ पुग्ला भनेर हेर्छौं र त्यसको अनुमानमा शो दिने हो । त्यो ट्रेन्डहरु सधैं मिल्छ भन्ने हुँदैन । ‘प्रकाश’को हकमा हामीले अनुमान गरेको छेउटुप्पै मिलेन ।’
 
Bhaskar Dhungana
 
क्यूएफएक्स सञ्चालक भाष्कर ढुंगाना
 
‘राधा’लाई पर्याप्त शो नदिएको भन्ने निर्माताको आरोपमा पनि भाष्कर भन्छन्, ‘हामीले फिल्मलाई दुई/चार शो बढी दिएको भए पनि हुन्थ्यो होला । तर, त्यो बेकार जान्थ्यो भन्ने कुरा त तथ्यांकले नै बताउँछ । ‘प्रकाश’ त्यही टाइममा हाउसफुल हुँदा ‘राधा’ हेर्ने २० जना पनि छैनन् । अनि, त्यो फिल्मलाई कसरी विभेद गरेको भन्न मिल्छ ? शो नदिएको भन्ने कुरा तथ्यले पनि सपोर्ट गर्नुपर्‍यो नी ।’ 
 
‘प्रकाश’को हकमा निर्माण टिमले भनेको कुरा सत्य निस्किएको र तथ्यमा पनि त्यो देखिएकाले क्यूएफएक्स च्यानलले शो बढाएको भाष्करको तर्क छ । तर, ‘राधा’को हकमा तथ्य नमिल्ने उनको भनाई छ । ‘५० प्रतिशत अकुपेन्सी हुँदा पनि शो दिएन भनेको भए तै पनि हुन्थ्यो होला । तर, २० जना पनि हलमा फिल्म हेर्ने दर्शक छैनन् अनि कसरी शो बढाउने ?,’ उनले निर्मातालाई प्रश्न गरे । 
 
‘प्रकाश’का निर्देशक दिनेश राउत कुनै पनि फिल्मलाई पूर्वअनुमान गरेर चल्दैन भन्ने हिसाबले शो दिन कञ्जुसाईं गर्नु गलत रहेको बताउँछन् । पूर्वअनुमान गरेर यो फिल्म चल्दैन भनेका फिल्महरु नै संसारभर बढी चलेका उदाहरण रहेको बताउँदै उनले ‘झोला’, ‘पशुपति प्रसाद’, ‘लुट’ जस्ता फिल्महरु पहिला चल्दैनन् भनेर अनुमान गरिएको भए पनि पछि तिनैले राम्रो व्यापार गरेको बताए । 
 
dinesh raut
 
‘प्रकाश’ निर्देशक दिनेश राउत
 
उनले भने, ‘नेपाली कथा, नेपाली भेषभुषा हुनसाथ यो फिल्म हेर्न दर्शक आउँदैनन् भनेर अनुमान गरिन्छ । हो, ‘प्रकाश’ले उठाएको जस्तै विषयमा बनेका अरु फिल्ममा दर्शक नआएर मल्टीप्लेक्सहरुले कम शो दिएका थिए होलान् । तर, बुझ्नु पर्ने कुरा के हो भने ती फिल्म प्रचारको माध्यमबाट मासमा पुगेका थिए ? हाम्रो पब्लिसिटी कस्तो थियो त्यसको मुल्यांकन गर्नुपर्थ्यो भन्ने मात्र कुरा हो ।’
 
कुनै पनि फिल्मलाई अर्को कुनै फिल्मसँग तुलना गरेर हेर्नु गलत हुने उनको बुझाई छ । उनी फिल्मलाई दर्शकसम्म पुर्‍याउन प्रदीप खड्काको नामले काम गरेको पनि स्वीकार गर्छन् । तर, हलमा दर्शक आइसकेपछि फिल्मले नै बाँधेको उनको तर्क छ । उनी भन्छन्, ‘प्रदीपको स्टारडमले फिल्मलाई फाइदा पुगेको छ । साथमा माउथ पब्लिसिटीले पनि दर्शकहरु आएका हुन् भन्ने लाग्छ ।’