Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मोरङबाट चुनाव लड्दैछिन् रेखा थापा ?

फिल्मीखबर, काठमाडौं, 2022/08/30
 
नेकपा माओवादीबाट राजनीतिक यात्रा थालेकी अभिनेत्री रेखा थापा अहिले राजतन्त्र पूर्नस्थापना र हिन्दू राष्ट्रको मुद्धा बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छिन् । महामन्त्री पदमा पराजित भएपछि केन्द्रिय सदस्यमा मनोनित भएकी उनले आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङ क्षेत्र नं. ३ बाट उनी चुनाव लड्ने लगभग निश्चित झैं छ । 
 
राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम सिफारिस गरेको छ । एकल नाम पार्टीमा गएकाले रेखा मोरङ क्षेत्र नं. ३ बाट चुनाव लड्ने निश्चित झैं बनेको हो । यद्यपि, उनलाई टिकट दिने वा नदिने भन्ने अन्तिम निर्णय पार्टीको केन्द्रिय कमिटीले गर्नेछ । रेखाले मोरङ ३ बाट चुनाव लड्न आफू तयार रहेको बताएकी छन् । मंगलवार विहान मात्र उनी गहृजिल्ला पुगेकी छन् । 
 
मोरङ क्षेत्र नं. ३ एमालेका प्रभावशाली नेता भानुभक्त ढकालको क्षेत्र हो । यो क्षेत्रमा एमालेको बलियो पकड छ । त्यसैले रेखालाई ‘सेफ ल्यान्डिङ’ गर्न राप्रपाले एमालेसँग तालमेल गर्ने सम्भावना बलियो छ । तर, बलियो संगठन भएका कारण मोरङ क्षेत्र नम्बर ३ राप्रपालाई छाड्न सक्ने अवस्था नरहेको एमाले नेताहरु बताउँछन् । अहिले राप्रपा र एमालेबीच तालमेलको प्रयास भइरहेको छ ।
 
राप्रपाबाट राजनीतिमा सक्रिय भएपछि रेखा फिल्म निर्माण र अभिनयमा निस्क्रिय जस्तै देखिएकी छन् । उनले तीन वर्ष अगाडि फिल्म ‘मालिका’मा अभिनय गरेकी थिइन् । त्यसपछि उनले न कुनै फिल्ममा अभिनय गरेकी छन् न त निर्माण । प्रतिनिधि सभाको निर्वाचनपछि भने उनी नयाँ फिल्म निर्माणको तयारीमा छिन् । नयाँ फिल्मका लागि उनले ठूलो मात्रामा तौल समेत घटाएकी छन् ।