Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रकाश’का निर्देशक राउत लेख्छन्, ‘मलाई फिल्म बनाउन आउँदैन’

फिल्मीखबर, काठमाडौं, 2022/08/30
दिनेश राउतले निर्देशकको रुपमा आफूलाई प्रमाणित गरिसकेका छन् । फिल्म ‘आई एम सरी’बाट निर्देशकीय यात्रा सुरु गरेका उनलाई फिल्म ‘नोभेम्बर रेन’ले लभस्टोरी फिल्म निर्देशनमा ठूलो उचाईं दिलायो । उनले फिल्म ‘क्लासिक’बाट पनि आफूप्रतिको विश्वास गिर्न दिएनन् । ‘प्रसाद’बाट निर्देशनमा थप अब्बलता देखाएका उनी निर्देशित नयाँ फिल्म ‘प्रकाश’ यतिबेला प्रदर्शनरत छ । 
 
dinesh raut
 
उनले यो फिल्ममा जुम्लाको कथा भनेका छन् । त्यहाँको रहन-सहन, भाषा, भेषभुषालगायतलाई टपक्क टिपेर उनले फिल्मका पात्रलाई दुरुस्त जुम्ली बनाएका छन् । एक युवकको शिक्षक बन्ने संघर्षमा आधारित फिल्मले वर्गीय र जातीय विभेदको कथालाई पनि उठाएको छ । फिल्ममा कलाकारझैं निर्देशक राउतको काम इमानदार देखिन्छ । उनले कहिँ कतै ‘चिट’ गरेको महसुस हुन्न । 
 
तर, फिल्म बनाएपछि राम्रो र नराम्रो दुवैखाले प्रतिक्रिया आउँछन् र मेकरले त्यसलाई स्वीकार गर्ने हिम्मत राख्नुपर्छ । ‘प्रकाश’मा कमी-कमजोरी धेरै छन् र त्यसलाई समीक्षकहरुले औंल्याएका छन् । कतिले भने फिल्मको मुक्तकण्ठले प्रशंसा पनि गरेका छन् । फिल्मलाई राम्रो र नराम्रो दुवैखाले प्रतिक्रिया आएपछि निर्देशक दिनेश राउतले आफूलाई फिल्म बनाउन नआउने बताएका छन् । 
 
लेनिन बञ्जाडेले फिल्मको प्रशंसामा फेसबुकमा लेखेको स्टाटसको स्क्रिन सट शेयर गर्दै राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मलाई पनि फिल्म बनाउन आउँदैन । सुरु सुरुमा अरुको फिल्म हेर्दा त लाग्थ्यो, के फिल्म बनाएको यो ? यस्तो पनि फिल्म हुन्छ ? म भए यस्तो गर्थे, उस्तो गर्थे । तर, आजभोली लाग्छ, मलाई फिल्म बनाउन आउँदैन तर पनि बनाउने आँट गर्छु । कोशिश गर्छु ।’
 
उनले फिल्म बनाउन आफूले कोशिश मात्र गर्ने गरेको र त्यसैको प्रतिफल ‘प्रकाश’ रहेको उल्लेख गरेका छन् । फिल्मलाई मिलेको प्रतिक्रियाले आफू खुसी रहेको उनको भनाई छ । प्रदर्शनको पहिलो दिन ‘लाइगर’का कारण शो बाँडफाँडमा चेपुवामा परेको ‘प्रकाश’ले अहिले बक्सअफिसमा राम्रो उपस्थिति जनाएको छ । आज तीजको विदामा धेरै हलहरुमा फिल्म हाउसफुल भएको छ ।