Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अब अभिनय छाड्न सक्दिनँ : सोनम तोप्देन

फिल्मीखबर, काठमाडौं, 2022/08/30
युवापुस्तामाझ कहलिएको नाम हो, सोनम तोप्देन । उनी गायकको रुपमा लोकप्रिय छन् । बलिउड फिल्मको चर्चित गीतको कभर गाएर उनले ठूलो फ्यान फलोइंग बनाएका छन् । ‘जब हैरी मेट सेजल’को ‘हवाएं हवाएं’, ‘टाइगर जिन्दा है’को ‘दिल दियां गल्लां’, ‘हाफ ‘गर्लफ्रेन्ड’को ‘मैं फिर भी तुमको चाहुंगा’ गीतको कभर गाएर लोकप्रियताको सिढी चढेका सोनम तिब्बतीयन नागरिक हुन् । 
 
अब उनको परिचय फेरिएको छ । उनले भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट नायकको डेब्यू गरेका छन् । यो फिल्म उनले गायन कलाकै कारण पाएका हुन् । अभिनेत्री पूजा शर्माले सोनमको कभर गीत सुनेपछि निर्देशक सुदर्शन थापालाई उनको नाम सिफारिस गरेकी थिइन् । र, सुदर्शनले पनि सोनमको लुक्स मन पराएपछि फिल्ममा लिएका थिए ।
 
Sonam Topden
 
यो फिल्म चार वर्ष अगाडि नै निर्माण भएको हो । तर, विभिन्न कारण फिल्म रिलिज हुन ढिलाई थियो । यो बीचमा उनले सुदर्शन निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरीपरी’ गीत गाए, जसले उनलाई थप लोकप्रियता दिलायो । अब उनी पहिलो फिल्ममा गरेको अभिनयको प्रतिक्रिया बुझ्न आतुर छ । फिल्म रिलिज नजिकिँदै गर्दा सोनमको मुटुको धड्कन बढेको छ । 
 
गायनमै सक्रिय रहँदा सोनम सोच्थे- ‘मेरो जीवन नै गीत गाएर वित्नेछ ।’ तर, ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेपछि उनीलाई लागेको छ, ‘अब अभिनय छाड्न सक्दिनँ ।’ उनी अब अभिनय र गायनलाई एकसाथ लिएर अगाडि बढ्ने योजनामा छन् । उनले फिल्ममा काम गरेपछि अनुप बरालबाट अभिनयको कक्षा समेत लिए । यसको अर्थ उनी अभिनयप्रति निकै गम्भीर बनेका छन् । 
 
एक भेटमा सोनमले भने, ‘म फिल्ममा आउनुभन्दा अगाडि गीत गाइरहेको थिएँ । त्यसबेला लाग्थ्यो कि म जीवनभरी गीत नै गाएर बस्नेछु । तर, जीवनमा सोचेको जस्तो नहुने रहेछ । भनिन्छ, जीवनमा भगवानले अर्को बाटो पनि देखाइदिनु हुन्छ । सुदर्शन सरले नै मलाई अर्को बाटो देखाइदिनु भयो । अब त्यो बाटोमा कसरी हिँड्ने, मेरै हातमा छ । म त्यो बाटोमा राम्रोसँग हिँड्ने प्रयास गर्नेछु ।’
 
फिल्ममा सोनमले रोमनको क्यारेक्टर निभाएका छन् । त्यो क्यारेक्टरलाई न्याय गर्न हिँड्नेदेखि बोल्नेसम्मको शैली सिकेको उनी स्मरण गर्छन् । क्यारेक्टरका लागि मिहेनत गरिरहँदा पहिलो फिल्म भएकाले उनको मनमा डरले डेरा जमाएको थियो । तर, सुटिङ सेटमा निर्देशक सुदर्शन थापाले आफूलाई कम्फर्ट जोनमा राखेकाले काम गर्न धेरै सजिलो भएको अभिनेता सोनमको अनुभव छ । 
 
निर्देशक सुदर्शन थापा फिल्मको कथाको मागअनुसार नै सोनमलाई लिएको बताउँछन् । फिल्ममा सोनमले बोल्ने टोन दर्शकलाई नयाँ लाग्ने उनको विश्वास छ । उनी भन्छन्, ‘सोनमको टोन फिल्ममा नयाँ लाग्न सक्छ । कतिपयले सोनम शुद्धसँग नेपाली बोल्दो रहेनछ भन्ने सुनेको छु । फिल्म हेरेपछि सोनम नै किन भन्ने कुराको जवाफ पाउनेछन् । उसले फिल्ममा राम्रो अभिनय गरेको छ ।’