Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सम्हालिन्छ कहिले मन’को गीत वा ट्रेलरमा टिकटक बनाएर सुन जित्ने मौका

फिल्मीखबर, काठमाडौं, 2022/08/29
aakash shrestha and pooja sharma
 
नेपालीहरुमाझ सर्वाधिक लोकप्रिय बनेको टिकटक एप नेपाली फिल्मको प्रचार-प्रसारका लागि पनि गतिलो प्लेटफर्म बनेको छ । पछिल्लो समय धेरै फिल्मले टिकटक लक्षित प्रचार अभियान गरिरहेका छन् । टिकटकको माध्यमबाट फिल्मलाई दर्शकको ठूलो वर्गमा पुर्‍याउन सकिने विश्वासमा निर्माताहरुले गीतदेखि अन्य कन्टेन्टमाथि टिकटक प्रतियोगिताको आयोजना गर्दै आएका छन् । 
 
यसैक्रममा, हिन्दूहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिल्म ‘सम्हालिन्छ कहिले मन’ले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । तीजको दिन (मंगलबार) विहान ६ बजेदेखि फिल्मका तीनवटा गीत अथवा ट्रेलरका संवादमाथि टिकटक बनाएर सर्वाधिक भ्यूज ल्याउने एक टिकटकरलाई एक तोला सुन पुरस्कार प्रदान गरिने निर्देशक सुदर्शन थापाले जानकारी दिए । 
 
आफ्नो टिकटक एकाउन्टमा भिडियो पोस्ट गर्दा #skmfilm अनिवार्य लेखिएको हुनुपर्ने सर्त निर्माण टिमले राखेको छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जुन टिकटक भिडियोमा धेरै भ्यूज मिलेको हुन्छ, त्यसैलाई भदौ २१ गते (मंगलवार) पुरस्कार प्रदान गरिने निर्माता अजित कुमार थापाले बताए । महिला र पुरुष दुवैले संयुक्त वा छुट्टा-छुट्टै रूपमा टिकटक बनाउन सक्नेछन् ।
 
भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलरसँगै ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत सार्वजनिक भइसकेका छन्, जसले फिल्मको लोभलाग्दो हाइप बनाएको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सोनाम तोप्देनलगायतको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथा बोल्ने फिल्मको ९० प्रतिशत छायांकन यूकेमा भएको हो ।