Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चिरञ्जीवी र सलमानको ‘गडफादर’ नेपालमा खिच्ने तयारी

फिल्मीखबर, काठमाण्डौ, 2022/08/29
तेलुगू फिल्म ‘गडफादर’को छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । करीब ४/५ मिनेटको महत्वपूर्ण सिनको छायांकनका लागि फिल्मको निर्माताको टिम जोमसोमको अवलोकन गरेर भारत फर्किएको विदेशी फिल्मको नेपाल व्यवस्थापन हेर्दै आएका सूरज आचार्यले जानकारी दिए । मंगलवार बेलुकासम्म फिल्मको नेपालमा छायांकन हुने वा नहुने भन्ने कुराको टुंगो लाग्ने उनले बताए । 
 
Megastar Chiranjeevi and Salman Khan
 
‘फिल्मको लोकेशन हेर्न कार्यकारी निर्माता नेपाल आउनुभएको थियो । अलि उचाईंमा विमानस्थल र गाडी पनि जाने ठाउँ खोज्नु भएपछि मैले जोमसोम विमानस्थलको अवलोकन गराएँ । उहाँलाई लोकेशन मन परेको छ । भोली टिमसँग सल्लाह गरेर उहाँले हामीलाई निर्णय दिनुहुनेछ,’ सूरजले भने । निर्देशकलाई पनि लोकेशन मन परे सेप्टेम्बरमा नेपालमा फिल्मको छायांकन हुनेछ ।
 
फिल्ममा तेलूगू फिल्मका मेगास्टार चिरञ्जीवीको मुख्य भूमिका छ भने बलिउड सुपरस्टार सलमान खान अतिथी भूमिकामा छन् । छायांकनका लागि निर्माण टिमले जोमसोम विमानस्थल ‘लक’ गरे दुवै नेपाल आउनेछन् । नेपालमा उनीहरु दुईजनाको मात्र सिन रहेको छ । आगामी अक्टोबर ५ मा रिलिज डेट तोकेकाले जतिसक्दो चाँडो फिल्मको छायांकन सक्नुपर्ने दबाबमा निर्माण टिम छ ।
 
गत हप्ता चिरञ्जीवीको जन्मदिनमा फिल्मको टिजर सार्वजनिक गरिएको थियो । नयनतारा, पुरी जगन्नाध, सत्य देवलगायतको पनि अभिनय रहेको फिल्मका निर्देशक मोहन राजा हुन् । चिरञ्जीवीका छोरा राम चरण, आरवी चौधरी र एनभी प्रसादले फिल्मको निर्माण गरेका हुन् । चिरञ्जीवी र राम चरणसँगको मित्रताका कारण सलमानले यो फिल्ममा काम गर्न पारिश्रमिक लिएका छैनन् ।