अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कालाई चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले खासै मन पराउँदैनन् भन्ने कुरा सुन्नमा पाइन्छ । आफ्नो छोरा अनमोल केसीको प्रतिस्पर्धी नायक भएकाले पनि उनी प्रदीपको लोकप्रियताबाट सुःख नहुने गरेको फिल्म क्षेत्रमा गाईंगुईं सुनिन्छ । तर, आजका दिनसम्म भुवनले खुलेरै प्रदीपबारे कुनै खालको टिका-टिप्पणी गरेका छैनन् ।
हाल प्रदीप प्रदर्शनरत फिल्म ‘प्रकाश’ले प्रदर्शनको पहिलो दिन कम शो पाउनुमा भुवनकै हात रहेको समेत कतिपयको दाबी थियो । तर, चलचित्र विकास बोर्डको अध्यक्षलाई कुनै पनि फिल्मको शो बाँडफाँड गर्ने अधिकार हुँदैन । ‘प्रकाश’ले कम शो पाउनुको कारण भुवन केसी नभइ बलिउड फिल्म ‘लाइगर’ थियो । कुन फिल्मलाई कति शोज दिने भन्ने निर्णय प्रदर्शनहरुको हातमा हुन्छ ।

प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने भएपछि आइतवार भुवनको अग्रसरतामा चलचित्र विकास बोर्डले फिल्मको टिमलाई शुभकामना दिँदै सम्मान गर्यो । तर, कार्यक्रममा प्रदीप अनुपस्थित थिए । उनी भुवन केसीबाट सम्मान थाप्न नजानुले उनीहरुबीच बढ्दो दूरीलाई स्पष्ट संकेत गर्छ । तर, कार्यक्रममा प्रदीप नगएको भए पनि भुवनले उनको प्रशंसा गरे ।
प्रदीप सबैले अत्यन्त मन पराएको र सबैको मनमा बसेको कलाकार भन्दै भुवनले प्रशंसा गरेका थिए । उनीसहितको टिमले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन प्रयास गरेकोमा खुसी व्यक्त गर्दै भुवनले यो फिल्मलाई बोर्डले सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । ‘प्रेमगीत ३’ले अरु पनि नेपाली फिल्मलाई विश्व बजारमा जानका लागि ढोका खोल्ने काम गरेको उनको भनाई छ ।
उनले भनेका थिए, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने कुरा मैले सधैं भन्दै आएको छु । नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा नगएसम्म हाम्रो अस्तित्व रहँदैन र हाम्रो कला, संस्कृति, भाषा, लोकेशनलाई संसारले चिन्दैन । त्यसैले नेपाली फिल्म विश्व बजारमा पुग्नु खुसीको कुरा हो ।’ चलचित्र विकास बोर्डले नेपाली फिल्मलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि उनले वाचा गरे ।
‘नेपाली फिल्मको समस्यालाई समाधानका लागि म बोर्ड आएको हुँ । तर, कतिपय चिजहरु चाहेर पनि गर्न नसकिने रैछ । त्यसका लागि नीति बनाउनु पर्ने रहेछ,’ उनले भने, ‘म सधैं नपाली फिल्मलाई नै पहिलो प्राथमिकतामा राख्छु । यसको मतलब विदेशी फिल्म चाहिँ नचलाउने भन्ने होइन । नेपालमा विश्वभरका फिल्म चल्नुपर्छ । तर, पहिलो प्राथमिकता हाम्रो भाषाको फिल्म हुनेछ ।’

