Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ टिमलाई बोर्डको सम्मान, गोविन्दाले भारत प्रचारमा सघाउने

फिल्मीखबर, काठमाडौं, 2022/08/28
हिन्दी भाषामा डब भएर पहिलो पटक नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतीय हलमा प्रदर्शन हुने भएपछि नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले फिल्मको निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरेको छ । आइतवार बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा अध्यक्ष भुवन केसीले फिल्मको टिमलाई शुभकामना दिँदै सम्मानस्वरुप गौतम बुद्धको मुर्ति प्रदान गरे ।
 
premgeet 3
 
नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन ‘प्रेमगीत ३’को टिमले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै अध्यक्ष केसीले आफ्नो व्यक्तिगत र बोर्डको तर्फबाट फिल्मलाई हरेक प्रकारको साथ र सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए । ‘म सधैं नै नेपाली फिल्म विश्व बजारमा पुग्नुपर्छ भन्ने सोच्थेँ । ‘प्रेमगीत ३’को टिमले यसको लागि प्रयास गरेकोमा म एकदमै खुसी छु,’ भुवनले भने ।
 
भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले नेपाली कला, संस्कृति र भाषालाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्नेमा उनी विश्वस्त छन् । फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा पनि धेरै सघाउने उनको भनाई छ । ‘प्रेमगीत ३’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न बाटो खोल्ने विश्वास व्यक्त गर्दै केसीले नेपाली र हिन्दी दुवै भाषाका लागि सफलताको शुभकामना दिए ।
 
बोर्डबाट सम्मान ग्रहण गरेपछि निर्देशक तथा निर्माता सन्तोष सेनले बोर्डको प्रोत्साहनले ठूलो हौसला मिलेको बताए । उनले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन सिंगो फिल्म क्षेत्र एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा सेनसँगै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायत उपस्थित थिए । तर, मुख्य नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङ भने गएका थिएनन् । 
 
gobinda and pradeep khadka
 
बोर्डले ‘प्रेमगीत ३’को टिमलाई भारत प्रदर्शनका लागि शुभकामना तथा सम्मान कार्यक्रम गरिरहँदा काठमाडौंको याक एन्ड यति होटलमा अभिनेता प्रदीप खड्का बलिउड सुपरस्टार गोविन्दालाई फिल्मको हिन्दी टिजर देखाइरहेका थिए । एक रियालिटी शोमा अतिथीको रुपमा उपस्थित हुनका लागि नेपाल आएका गोविन्दासँग दिनेश डिसी र वरुण चौधरीले प्रदीपलाई भेट गराएका हुन् ।
 
भेटमा प्रदीपले ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएको जानकारी दिँदै हिन्दी टिजर देखाएका थिए । टिजर हेरेपछि उनले भारतमा फिल्मको प्रचारमा सघाउने वाचा गरेको प्रदीपले इन्स्टाग्राममा उल्लेख गरेका छन् । उनले फिल्मको हिन्दी टिजरको पनि प्रशंसा गरेको जानकारी प्राप्त छ । ‘प्रेमगीत ३’ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ ।