Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र आकाशलाई कथाभन्दा सुदर्शनमा भरोसा

फिल्मीखबर, काठमाडौं, 2022/08/28
नेपाली फिल्म क्षेत्रमा कलाकार र निर्देशकबीच सुमधुर सम्बन्ध स्थापित भएका ज्यादै कम उदाहरण छन् । प्रायःको एउटा फिल्ममा सहकार्य भएपछि सम्बन्ध विग्रिएकै हुन्छ । तर, यसको अपबादमा पर्छन्, निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा । ‘मधुमास’ देखि उनीहरुबीच सहकार्य टुटेको छैन । बेला बखतमा खटपटको खबर आएता पनि उनीहरुको व्यावसायिक सम्बन्ध मजबूत छ । 
 
सुदर्शन त पूजाको ‘गडफादर’ नै हुन् । आज उनी जुन उचाईंमा छिन्, त्यसको देन सिर्फ सुदर्शन हुन् । उनले ‘प्रेमगीत’का लागि पूजालाई मौका नदिएको भए उनी सम्भवतः आजसम्म हराइसकेकी हुने थिइन् । त्यसैले पनि उनले सुदर्शनको साथ छाड्न सकेकी छैनन् र सुदर्शनका लागि पनि पूजा ‘लक्की चार्म’ हुन् । ‘प्रेमगीत’पछि उनले पूजालाई लिएर बनाएका फिल्म डब्बा भएका छैनन् । 
 
sudarshan thapa
 
फिल्म ‘म यस्तो गीत गाउँछु २’पछि पूजाको होम प्रोडक्सनको नयाँ फिल्म सुदर्शनले नै निर्देशन गर्दैछन् । तर, यसअघि उनीहरुले संयुक्त रुपमा लामो समयपछि बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ यही भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई सुदर्शनले नै निर्देशन गरेका हुन् भने पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको अभिनय छ । 
 
आइतवार पत्रकार भेटघाटमा पूजा र आकाशले फिल्मको कथावस्तुभन्दा पनि निर्देशक सुदर्शन थापामाथि बढी विश्वास लाग्ने बताए । यसअघि सुदर्शनको ‘रामकहानी’मा काम गरेका आकाशले भने, ‘सुदर्शन दाई आफैंमा कथा हो । उहाँप्रति पूरा विश्वास लाग्छ ।’ पूजाले पनि आकाशको कुरामा पूर्ण सहमति जनाइन् । सुदर्शन थापाबाट कमजोरी नहुने विश्वास आफूमा रहेको उनको भनाई छ ।
 
उनी भन्छिन्, ‘म सुदर्शनजीलाई आँखा चिम्लिएर विश्वास गर्छु । मलाई के विश्वास छ भने सुदर्शनजीले दर्शकहरुलाई निराश बनाउने काम गर्नुहुन्न । त्यसैले उहाँले निर्देशन गर्ने फिल्मको कथाभन्दा मलाई उहाँप्रति बढी विश्वास र भरोसा लाग्छ ।’ आफू फिल्म र सुदर्शन थापाको कारण चलेको भन्न पनि उनलाई कुनै समस्या छैन । स्टारकास्टका कारण फिल्म नचल्ने पनि पूजाको तर्क छ ।