Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवल खड्का निर्माता संघको अध्यक्षमा उठ्ने

फिल्मीखबर, काठमाडौं, 2022/08/28
निर्माताहरुको छाता संस्था चलचित्र निर्माता संघको आसन्न महाधिवेशनमा निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले आइतवार फेसबुकमा एजेन्डासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले विदेश भूमिमा नेपाली फिल्म रिलिजको वातावरण बनाउनेदेखि विदेशी फिल्ममा कर वृद्धि गर्नेसम्मको एजेन्डा अघि सारेका छन् ।
 
Nawal Khadka
 
निर्माता संघको लागि जग्गा खरिद गरेर भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दूत नियुक्त गरी फिल्म प्रदर्शन गर्ने सहज बनाउने, चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्ने, सबै प्रदेशमा स्टुडियो तथा चलचित्र प्रज्ञा प्रतिष्ठान स्थापना गर्न पहल गर्ने, ओटीटी प्लेटफर्मको खोजी गर्नेलगायतका एजेन्डाहरु खड्काको छ ।  
 
आफू संघको सचिवमा रहँदा सामुहिकतालाई ध्यान दिइएर कार्य र निर्णयहरु गरिएको भए पनि समयक्रममा स्वच्छ प्रतिष्पर्धाका नाममा भद्दा चुनावी हर्कतका कारण संघ सामुहिकताबाट समूह–समूहमा विभाजित भएको तर अब संघको गतिलाई तीव्रता दिनुपर्ने उनको जोड छ । त्यसैले यसपटकको नेतृत्व सर्वसहमतिमा निर्माण गर्न आफ्नो पहल रहने पनि खड्काले उल्लेख गरेका छन् । 
 
नवलले लेखेका छन्, ‘हामीहरु पुराना तिक्तता विर्सेर सामुहिक पाइला चाल्न तयार भएका छौं । यसलाई निरन्तरता दिनु नै हाम्रो संघका लागि हित हुनेछ । हाम्रो एक जुटताले नै पेशालाई आत्मनिर्भर र प्रतिष्ठित बनाउन सहयोग पुग्नेछ । यो निचोड नै अहिले चलचित्र निर्माता संघका अगुवाहरुको हो ।’ अहिलेसम्म उनीबाहेक अरु कसैले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छैनन् ।