युवापुस्ताको नाडी छामेर रोमान्टिक फिल्म बनाउने निर्देशकमा सुदर्शन थापाको नाम अग्रपंक्तिमा आउँछ । ‘मेरो एउटा साथी छ’ होस् वा ‘प्रेमगीत’, रोमान्टिक फिल्म निर्देशनमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । उनी निर्देशित फिल्मप्रति दर्शकको ठूलो आशा र अपेक्षा हुने गर्छ । उनै, सुदर्शनको नयाँ लभस्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते प्रदर्शनमा आउँदैछ ।
गत हप्ता गीत रिलिज कार्यक्रममा सुदर्शन फिल्मको मेकिङ पक्षलाई लिएर बढी आत्मविश्वासी देखिएका थिए । क्वालिटीमा फिल्म अब्बल बनेको बताउँदै उनले भनेका थिए, ‘लभस्टोरी भए पनि फरक ढंगबाट देखाएका छौं । विदेशी भूमिमा खिचिएको एउटा राम्रो नेपाली फिल्म हुन्छ भन्ने मेरो आशा छ ।’ नेपाली फिल्मलाई विभिन्न रुपमा वर्गीकरण गरिएकोप्रति पनि उनको आपत्ति थियो ।
.jpg)
‘हामी फिल्मलाई विभिन्न रुपमा वर्गीकरण गरिरहेका छौं । तर, एउटा ध्रुवसत्य कुरा के हो भने चलेका फिल्म नै राम्रो हो र फिल्म चल्नका लागि कन्टेन्ट नै बलियो हुनुपर्छ । कन्टेन्टलाई कसरी प्रस्तुत गरिएको छ र मेकिङ कस्तो छ भन्ने कुराले विशेष महत्त्व राख्छ । र, ‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टलाई मेकिङमा अब्बल बनाउन मैले कुनै कसर बाँकी राखेको छैन,’ उनी सुनिए ।
फिल्मको गीत सार्वजनिक कार्यक्रममा फिल्मखबरकर्मी मनिष अन्जानले मेकिङ पक्षलाई लिएर सोधेका तीन प्रश्नहरुको जवाफ निर्देशक सुदर्शन थापाले यसरी दिएका थिए ।
१. फिल्मको मेकिङ उच्च बनाउन निर्देशकमा इच्छाशक्ति चाहिने रहेछ वा निर्मातासँग पैसा ?
निर्देशकमा इच्छाशक्ति राम्रो हुनुपर्छ र त्यो निर्देशकको इच्छाशक्तिलाई पूरा गर्न निर्मातासँग पैसा पनि हुनुपर्छ । फिल्म बनाउँदा खेरी मैले देखेका र गर्न खोजेका कुराहरु निर्माताको पैसाले पूरा गर्न सकेन भने त्यो चिज स्क्रिनमा हेर्दा राम्रो देखिन्न । आज तपाईं मसँग झगडा गर्नुस्, लड्नुस् तर म मान्दिनँ तपाईंको कुरा । छायांकनकै समयमा निर्देशकको कुरा मानेर त्यो चिज पर्दामा हेर्दा गर्व महसुस गर्ने कि निर्देशकको कुरा नमानेर पछुतो हुने, निर्माताको हातमा हुन्छ ।
निर्देशकले देखेको कुरा निर्माताले पैसाले पूरा गर्न सके मात्र फिल्म राम्रो बन्छ । त्यसैले निर्देशकले माग गरेको कुरा निर्माताले पूरा गर्न सक्नुपर्छ ।
२. ‘सम्हालिन्छ कहिले मन’को मेकिङलाई लिएर तपाईं धेरै नै आत्मविश्वासी देखिनुभयो । के यसअघि तपाईं मेकिङमा चुकेको आत्मबोध भएको हो ?
म पहिलो फिल्मदेखि मेकिङमा चुकेको छु जस्तो लाग्दैन । पछिल्लो रिलिज फिल्म ‘म यस्तो गीत गाउँछु २’ मेरो आफ्नै होम प्रोडक्सनको थियो । इलाम जस्तो ठाउँमा १८/२० दिन पानी पर्दा एक सिन पनि नखिची बस्ने निर्माता मै हो । मैले सबैलाई ‘फिल्म बनाएको हो भात पकाएको होइन’ भनेर नआत्तिन आग्रह गर्थेँ । चिया बनाउन त मिहेनत चाहिन्छ भने फिल्म बनाउन मिहेनत र धैर्यता दुवै चाहिन्छ । यही निर्देशकलाई यही निर्माताले निर्देशकले देखेको कुरामा कम्प्रमाइज नगर है भनेर भनिराख्थ्यो ।
३. ‘सम्हालिन्छ कहिले मन’को मेकिङमा जति ठूलो खर्च भएको छ, के त्यो घरेलु बजारले धान्न सक्छ भन्ने लाग्छ ?
हामीले हाम्रो मिहेनतको प्रतिफल मात्र खोजिरहेका छौं । फिल्मको छायांकन यूकेमा भएको हो । स्वतः नेपालभन्दा यूकेमा छायांकन गर्दा महंगो पर्छ । त्यो कुरा त निर्माताले पक्कै सोच्नुभएको थियो होला । मैले त्यहाँ गएर पनि निर्देशन नै गरेको हो, कलाकारले अभिनय नै गरेका हुन् र छायाँकारले खिचेको नै हो । त्योभन्दा अरु खर्च त भएको छैन । त्यसैले फिल्ममा हुने खर्चको विषयमा निर्माता पहिल्यै जानकार हुनुहुन्थ्यो ।

