विदेशी फिल्म आउँदा नेपाली फिल्मलाई प्रदर्शकहरुले दबाउन कुनै कसर बाँकी राख्दैनन् । यसपटक यसको शिकार शुक्रवारबाट प्रदर्शनमा आएका दुई आशातित नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ भए । नेपाली २ करोड आसपासमा नेपाल भित्रिएको बलिउड फिल्म ‘लाइगर’लाई सर्वाधिक शो दिँदा हल सञ्चालकहरुले दुई नेपाली फिल्मलाई भने शुक्रवार झारो टार्न मात्र शो थमाएका थिए ।
मल्टीप्लेक्समा शो कम पाएको विषयमा ‘राधा’ टिम मौनता साँधेर बसेको छ । तर, ‘प्रकाश’ टिम हलवालाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माता महेन्द्र अधिकारी, अभिनेता प्रदीप र लेखक विकास सुवेदीले हलवालाहरुको नियतमाथि प्रश्न उठाए । प्रदीपले शो नदिए चोक-चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने घोषणा समेत गर्न भ्याए ।
.jpg)
पत्रकार सम्मेलनमा प्रदीप विशेषगरी नेपालको ठूलो चेन नेटवर्क क्यूएफएक्सप्रति आक्रोशित देखिन्थे । अन्ततः उनको आक्रोशले काम गरेको छ । शुक्रवारका लागि ‘प्रकाश’लाई १६ शो बाँडेको क्यूएफएक्सले शनिवारलाई ठूलो मात्रामा शो संख्या बढाएको छ । शनिवार क्यूएफएक्स चेनमा फिल्मले २६ शो पाएको छ । सुवर्ण थापा निर्देशित ‘राधा’लाई भने १३ शोज उपलब्ध गराइएको छ ।
दोस्रो दिनका लागि ‘प्रकाश’को शो ठूलो संख्यामा बढ्नुमा प्रदीपको आक्रोशसँगै ‘लाइगर’को कमजोर रेटिङले काम गरेको देखिन्छ । ‘लाइगर’लाई भारतीय समीक्षकहरुले दयनीय रेटिङ दिएका छन् । जसको असर नेपाली बक्सअफिसमा पनि परेको छ । शुक्रवार यो फिल्म खासै चलेन । अग्रिम बुकिङ हेर्दा शनिवार पनि सुखद् हुने देखिन्न । यसको फाइदा ‘प्रकाश’ र ‘राधा’लाई हुन सक्नेछ ।
यी दुई नेपाली फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेका थिए । शुक्रवार ‘प्रकाश’को अकुपेन्सी केही सुखद् देखियो । विहानी शो औसत रहे पनि दिउँसोबाट प्रदीपका हाइहार्ट फ्यानहरु हल पुगेका थिए । प्रदीप शुक्रवार बेलुका चावहिलको एफक्यूबमा पुग्दा उनका फ्यानहरुले हल करीब भरिभराउ देखिन्थ्यो । शनिवार सार्वजनिक विदा भएकाले दर्शक बढ्नेमा निर्माण टिम विश्वस्त छ ।

