गत वर्ष ‘पुष्पा’सँग आफ्नो फिल्म ‘चपली हाइट ३’ भिड्ने भएपछि निर्माता अर्जुन कुमार एक्लै वितरकहरुसँग भिडे । बोल्नलाई केही बाँकी राखेनन् । तर, उनले साउथ फिल्मको विरोध गर्दा उनलाई साथ दिने कोही थिएनन् । गत बैशाखमा ‘केजीएफ २’सँग ‘ए मेरो हजुर २’ भिड्ने आँट गर्दा निर्माता सुनिल कुमार थापा र झरना थापा मात्र बोले । उनीहरुले कसैबाट साथ र सहयोग पाएनन् ।
नेपाली फिल्म क्षेत्रमा जसलाई पर्छ उही मात्र रोइकराई गर्ने चलन छ । भनिन्छ नी, ‘आफू नमरी स्वर्ग देखिन्न ।’ आफूलाई परेपछि मात्र अर्को निर्माताले उठाएको आवाज सही रहेछ भन्ने महसुस हुन्छ । तर, आफूले भोगिसकेपछि फेरि कोही बोल्न अगाडि सर्दैनन् । यतिबेला विदेशी फिल्म ‘लाइगर’का कारण हलवालाबाट सौतेनी व्यवहार खेपेको फिल्म ‘प्रकाश’को टिम एक्लै बोलिरहेको छ ।
.jpg)
मल्टीप्लेक्सहरुले शो बाँडफाँडमा विभेद गरेको भन्दै ‘प्रकाश’को टिमले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्यो । जहाँ प्रदीप खड्का आक्रामक सुनिए । शो नदिए ‘प्रकाश’लाई चोक-चोकमा प्रोजेक्टर लगाएर देखाउने उनले घोषणा समेत गरे । हलवालाको थिचोमिचोविरुद्ध कयैन् निर्माताहरुले आवाज उठाउँदा उनै प्रदीप हुन्, जसले एक शब्द बोल्न पनि आवश्यक ठानेका थिएनन् ।
आफ्नो फिल्मलाई हलवालाले विभेद गरेपछि आक्रामक शैलीमा प्रस्तुत भएका प्रदीपलाई फिल्मीखबरकर्मी मनिष अन्जानले सोधे- ‘अरु निर्माता मार्कामा पर्दा पनि बोल्नु पर्दैन थियो र ?’ उनले ‘बोलेको छैन र ?’ भन्दै प्रतिप्रश्न गरे । ती पत्रकारले ‘खोइ त देखिएको ?’ भनेर प्रश्न गरेपछि भने उनले जवाफ फर्काउन सकेनन् । उनले उल्टै ती पत्रकार कसैबाट परिचालित रहेको आशय व्यक्त गरे ।
उनले भने- ‘तपाईंको न्यूजको स्क्रिनसट मैले राखेको छु, दुई/चारवटा । तपाईं मप्रति कस्तो धारणा राख्नुहुन्छ र कुन सोचबाट प्रश्न गर्नुहुन्छ भन्ने थाहा छ । हामी सेप्रेट बसौंला ।’ उनको यो भनाईबाट स्पष्ट बुझिन्छ कि उनी आफ्नो बारेमा पत्रकारबाट राम्रो मात्र समाचार र प्रश्नको अपेक्षा गर्छन् । कार्यक्रम सकिएपछि उनले ती पत्रकारलाई ‘व्यक्तिगत रुपमा नलिनु है’ भन्दै फोन गरेका थिए ।
प्रदीप बौद्धिक अभिनेता हुन् । उनी हरेक कुरालाई सान्दर्भिक तर्कसहित प्रस्तुत गर्न माहिर छन् । तर, आफूलाई पर्दा मात्र समस्या देखाउने अनि अरुलाई पर्दा कुना पस्ने बानी हटाउन आवश्यक छ । हरेक फिल्मका निर्मातामा उनले ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारी देख्न सक्नुपर्छ । पत्रकारले आफू अनुकूल समाचार र प्रश्न नगरेको भन्दै चित्त दुखाएर बस्ने भए त के नै भन्न सकिन्छ र !

