गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि एक दर्जन बढी फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, कुनै नेपाली फिल्मले दर्शकलाई हलसम्म आकर्षित गर्न सकेका छैनन् । एकपछि अर्को आशातित र नाम चलेका कलाकारहरुको फिल्महरु असफल भइरहँदा फिल्म क्षेत्रमा निराशा छाएको अवस्था छ । यतिबेला फिल्म क्षेत्रलाई वैतरणी तार्ने फिल्मको आवश्यकता देखिएको छ ।
यसबीच, शुक्रवार (आज) बाट सिंगो फिल्म क्षेत्रले ठूलो आशा गरेका दुई फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दुवै फिल्ममा स्टार कलाकारहरुको अभिनय छ भने दुवै फरक विषयमा बनेका फिल्म हुन् । ‘प्रकाश’मा अहिलेका स्टार नायक प्रदीप खड्का लिड रोलमा छन् । कमर्शियल लभस्टोरी फिल्ममा जमेका उनले पहिलो पटक आफूलाई चरित्र अभिनयमा ढालेका छन् ।

प्रदीपको युवापुस्तामा गजबको क्रेज छ । ‘प्रकाश’लाई यसको फाइदा हुने अपेक्षा गरिएको छ । उनी पहिलो पटक फरक चरित्रमा प्रस्तुत भएकाले उनका डाइहार्ट फ्यानहरु हलसम्म पुग्न सक्ने देखिन्छ । बुधवार भएको प्रिमियरमा राम्रो प्रतिक्रिया बटुलेको फिल्मले मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ । बलिउड फिल्म ‘लाइगर’का कारण मल्टीप्लेक्समा ‘प्रकाश’को शो खुम्चिएको हो ।
‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्तो फिल्मबाट आफूलाई प्रमाणित गरिसकेका दिनेश राउत निर्देशित फिल्ममा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मको आक्रामक प्रचार-प्रसार गरिएको थियो ।
त्यस्तै, ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेको फिल्म ‘राधा’मा पनि नाम चलेका कलाकारहरुको ठूलो भीड छ । अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेललगायतको अभिनय छ । यो फिल्मले पनि ‘प्रकाश’झैं मल्टीप्लेक्सहरुमा लाइगर’का कारण सुखद् शो पाएको छैन ।

